चन्द्रागिरि नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न, सहभागीको संख्या अपेक्षाकृत न्यून
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्ष २०८१ / ८२ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा सुविधा प्रवाह सम्वन्धमा केन्द्रीत रहेर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय सरकार संचालन ऐन, २०७४ का दफा ७८ को उपदफा ५ वमोजिम सो चन्द्रागिरि नगरपालिका परिसरमा सार्वजानिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले चैत्र मसान्तसम्मको प्रगति विवरण प्रतिवेदन सार्वजनिक गरेका थिए । कार्यक्रममा सो अवधिमा नगरपालिकामा २० करोड ९५ लाख ४२ हजार रुपैयाँ कर सङ्कलन भएको र घर जग्गा रजिष्ट्रेशनबाट २५ करोड ४९ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिइएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको यस आर्थिक वर्षको स्वीकृत बजेट २ अर्ब ८१ करोड ३५ लाख मध्ये चैत्र मसान्तसम्म जम्मा ९१ करोड ३४ लाख ९० हजार ६८७ खर्च भएको विवरण सार्वजानिक गरिएको थियो ।
नगरपालिकाका विषयगत शाखाहरुबाट चैत्र मसान्त सम्म सम्पन्न भएका कार्यक्रमहरुको प्रगतिविवरण पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमका शुरुआतमा सामाजिक विकास समितिका संयोजक एवम् चन्द्रागिरि –१५ का वडाध्यक्ष घनश्याम लुइटेलले सवै वडाहरु र नगरपालिकाको सवल पक्ष र सुधार गर्नुपर्ने कुरा सम्वन्धी एक्जिट पोलका रिपोर्ट प्रस्तुत गरेका थिए ।
सो रिपोर्टमा वडा कार्यालयहरुमा गुनासो सम्पर्क व्यक्ति नभएको, ज्येष्ठ नागरिकहरुका सवालहरु, योजनाका अनुगमनमा प्राविधिक पक्ष रहेका थिए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, कार्यपालिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु एवं वडाध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु एवं अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरी नगरक्षेत्रका विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षकहरु, उपभोक्ता समितिका सदस्यहरु, टोलसुधार एवं स्थानीय क्लबका पदाधिकारीहरु, समाजसेवी, वुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।













