बागबजारमा एक जना महिलाको हत्या प्रकरणः नागढुङ्गाबाट समातिए आरोपित
थानकोट ।
काठमाडौंको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।
नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो।
चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८ स्थित एक गेष्ट हाउसको कोठामा तामाङको शव फेला परेको थियो।
उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा उनीसँगै बसेका पुरूष फरार रहेको खुलेको थियो।
प्रहरीले धादिङ गल्छी गाउँपालिका घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्तलाई मंगलबार पक्राउ गरेको हो। परिसरका अनुसार उनी भारतीय पूर्व सैनिक हुन्।
उनी भारत भागेका थिए। त्यहाँबाट नेपाल फर्किएको सूचना पाएपछि प्रहरीले नागढुंगाबाट पक्राउ गरेको हो।
प्रहरी वृत्त सिंहदरबारले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।













