महालेखाको ६२ औं प्रतिवेदनः नेपाल ट्रष्टको मातातीर्थमा रहेको जग्गापनि मोहीको नाममा नामसारी

Thankot Times

थानकोट ।

नेपाल ट्रष्ट ऐन, २०६४ को प्रावधानविपरीत ट्रष्टको स्वामित्वमा रहेको १७२ रोपनी १५ आना जग्गा मोही र निजको हकवालाको नाममा नामसारी भएको खुलेको छ। 

महालेखा परीक्षकको कार्यालयको ६२ औं प्रतिवेदनले ट्रष्टको सम्पत्ति संरक्षण र व्यवस्थापनमा गम्भीर लापरबाही भएको देखाएको हो।

ट्रष्टको अचल सम्पत्ति कुनै व्यक्ति वा संस्थापकको नाममा दर्ता गर्न नसकिने व्यवस्था ऐनमा गरिएको छ।

तर, मन्त्रिपरिषद्को २०६४ भदौ २६ को निर्णयअनुसार मालपोत कार्यालय, कलंकीबाट ट्रष्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त काठमाडौंको मातातीर्थ, थानकोट, सतुङ्गल र इचगुमा रहेको १७२ रोपनी १५ आना जग्गा मोहीको नाममा नामसारी भएको देखाइएको छ।

यो जग्गा छानबिन गरी ट्रष्टको स्वामित्वमा फिर्ता ल्याइएको छैन्।

यस्तै, काठमाडौंको बालाजु, स्वयम्भू, शेष नारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४०४ रोपनी ६ आना जग्गा मोहीहरूले खेती गरिरहेको र एक निजी विद्यालय सञ्चालनमा रहेको देखाइएको छ। ट्रष्टले यो जग्गा प्रयोग गर्न सकेको छैन्।

गत वर्ष यो समस्या औंल्याइए पनि स्थिति यथावत् रहेको महालेखाले जनाएको छ।

साथै, धादिङको धुनीबेंसी, ललितपुरको गोदावरी, गोदामचौर, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाललगायत ८ स्थानमा रहेको १५ हजार पाँच सय दुई रोपनी जग्गाको सिमाङ्कन र संरक्षणसम्बन्धी कुनै कार्य नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ऐन विपरीत ट्रष्टको जग्गा मोही र निजी संस्थाको कब्जामा गएको छ, ट्रष्टले आफ्नो सम्पत्तिको संरक्षण र व्यवस्थापनमा प्रभावकारी कदम नचालेको, सिमाङ्कन र संरक्षणको अभावमा ठूलो परिमाणको जग्गा जोखिममा परेको जस्ता समस्या महालेखाले देखाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *