नागढुङ्गा झापड काण्डः पर्यटक बसबाट खिचिएको थियो भिडियो, डीएसपी गिरीलाई छानबिनको जिम्मा

Thankot Times

थानकोट ।

बुधबार दिउँसोबाट सामाजिक सञ्जालम भाइरल बनेको नागढुङ्गामा प्रहरीको झापड प्रकरणको भिडियोसँग सम्बन्धित घटनाको छानबिन सुरु भएको प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा नागढुङ्गा ट्राफिक प्रहरीका प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक हवल्दार मदन खड्कालाई कुटेको प्रारम्भिक विवरण छ ।

सो भिडियो बुधबार बिहानको भएको बुझिएको छ।

भारतीय नम्बर प्लेटको गाडी नागढुङ्गा हुँदै काठमाडौं प्रवेश गर्दै थियो, सोही विषयमा विवाद हुँदा प्रहरी निरीक्षक साहले हवल्दार खड्कालाई झापड हानेका हुन् ।

एक प्रहरीका अनुसार, भारतीय नम्बर प्लेटका गाडीलाई नागढुंगामा जाँचका विषयमा केही दिनअघि समेत ट्राफिक प्रहरी र जाँचमा खटिएका प्रहरीबीच विवाद भएको थियो ।

ती प्रहरी भन्छन्, ‘‘भारतीय नम्बर प्लेटको गाडी आएको थियो । ट्राफिक जाम पनि थियो । त्यही बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले कुटेका हुन् ।’’

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले घटनाबारे छानबिन गर्न प्रहरी वृत्त थानकोटमा कार्यरत डीएसपी एलिजा गिरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

प्रहरी निरीक्षकबाट कुटाइ खाने हवल्दार खड्का नागढुंगा प्रहरी प्रभागमा कार्यरत छन् । निरीक्षक साह भने ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।

सामाजिक सञ्जालमा बुधबार दिउँसोबाट छरपस्ट बनेको भिडियो काठमाडाैंबाट पोखरा जाँदै गरेको पर्यटक बसका चालकले खिचेको स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो । नागढुङ्गा नाकामा बुधबार बिहान जाममा फसेका बागमती प्रदेश ०१ ००१ १८२८ का चालकले प्रहरी द्वयको हर्कत खिचेका थिए ।

निरीक्षक साहले घटनाका बारेमा यसअघि नै कमाण्ड सेन्टरमा जानकारी गराइसकेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *