टेरामक्स प्रकरणः १६ जनाविरुद्ध मुद्दा

Thankot Times

थानकोट ।

टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ३ अर्ब २१ करोड बढी बिगो माग दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। जसमा दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारी छन्।

सोही प्रकरणमा मुछिएका सांसद पूर्व सञ्चार मन्त्रीद्वय ज्ञानेन्द्रबहादुर कार्की र गोकुल बाँस्कोटा तथा पूर्व मुख्य सचिव बैकुण्ठ अर्याललगायतलाई भने अख्तियारले मुद्दा लगाउन नपर्ने निष्कर्ष निकालेको छ।

कम्पनीहरूमा परामर्शदाता भ्यानराइज सोलुसन्स् (एसएएल अफसोर) र उक्त कम्पनीका सीईओ जमाल अनौती, तथा स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्राइभेट लिमिटेड र अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल रहेका छन्।

उनीहरूले राज्यको सम्पत्तिको दुरुपयोग गरी हानी नोक्सानी पुर्‍याएकोमा अभियोगपत्रमा उल्लेख छ।

अख्तियारले सबैसँग जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि नागरिकको व्यक्तिगत सूचनामा पहुँच स्थापित गराउने टेरामक्स प्रविधि तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गइ एकल निर्णय गरेका थिए।

सोही निर्णय कार्यान्वयन गर्ने निर्देशनका आधारमा दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीले मिलेमतोमा खरिद प्रक्रिया अघि बढाएको अख्तियारको ठहर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *