गणतन्त्र दिवस मूल समारोह समिति गठन
थानकोट ।
गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवससम्बन्धी कार्यक्रमहरू छलफलसहित पारित गरिएको हो।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।
बैठकले यही जेठ १५ गतेको गणतन्त्र दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीय रूपमा मनाउने निर्णयसमेत गरेको छ।
यसमा केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरू, सम्बन्धित निकायहरू, निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ।
त्यसैगरी, विदेशस्थित नेपाली राजदूतावासहरू, कूटनीतिक नियोगहरू तथा वाणिज्य दूतावासहरूमा समेत कार्यक्रम तय गरिएको छ।
जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह समितिको आयोजनामा सम्पन्न हुनेछ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्य रूपमा जनस्तरसम्म मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन्।
यस्तै, मूल समारोह समितिमा पदेन रूपमा रहनुपर्ने पदाधिकारीहरू पटक–पटक अनुपस्थित हुने स्थिति अन्त्य गर्न निर्देशनसमेत दिएका छन्।


















