यसकारण नागढुङ्गा नाकाबाट समातिए २८ वर्षीय सागर
थानकोट ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ८ सय ट्याब्लेट सहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने २८ वर्षीय सागर बम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१०१ नम्बरको बसमा सवार उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो।
यसैगरी धादिङको गल्छी गाउँपालिका-७ गल्छी चोकबाट लागुऔषध गाँजा करिब ८ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ४४ वर्षीय बद्री अधिकारी र ४६ वर्षीय देवराज अधिकारी रहेका छन्।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।
दुवै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












