काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतद्वारा नगर प्रहरी प्रमुख पाण्डेसँग स्पष्टीकरण माग
थानकोट।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले निमित्त नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।
केही दिनअघि कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा उनलाई स्पष्टीकरण मागिएको हो।
महानगर स्रोतका अनुसार, पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। गुरागाईँले हिजो सोमबार जारी गरेको स्पष्टीकरण पत्र पाण्डेले मंगलबार बुझेको स्रोतले जनाएको छ।
गत २१ चैतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई मेयर बालेन्द्र शाहको अप्रत्यक्ष असहयोगका बीच महानगरका कर्मचारी र जनप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गर्न बाध्य पारिएको थियो।
सो दिन नगर प्रहरीले पाण्डेकै नेतृत्वमा उनलाई रोक्न खोजेको थियो।
कानुनी प्रावधानअनुसार नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रही काम गर्नुपर्ने हुन्छ।
तर, निमित्त प्रमुख पाण्डे मेयर शाहको प्रत्यक्ष निर्देशनमा परिचालित हुँदै आएका छन्।


















