चित्लाङबाट सर्लाही जाँदै गरेकाे विङ्गर भ्यान त्रिभुवन राजपथमा दुर्घटना, ३ जनाको अवस्था गम्भीर
थानकोट ।
चित्लाङबाट सर्लाही जाँदै गरेकाे यात्रुबाहक भ्यान त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ ।
मंगलबार दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथकाे छैसठ्ठी माेडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
दुर्घटना भएकाे गाडी सल्लाको रूखमा अड्किएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे डिएसपी अर्यालले बताए ।
उनीहरूलाई उपचारकाे लागि हेटाैंडा अस्पताल ल्याइएकाे छ ।
घटनास्थलमा रहेकाे प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चाैकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।


















