भानु जयन्तीको अवसरमा आज चन्द्रागिरिमा जिल्लाव्यापी कविता लेखन प्रतियोगिता हुँदै
थानकोट ।
आदिकवि भानुभक्त आचार्यको २१२ औ जन्मजयन्तीका अवसरमा आज काठमाडाैं जिल्ला प्याब्सनको आयोजना तथा चन्द्रागिरि नगर प्याब्सनको संयोजनमा काठमाडाैं जिल्लाव्यापी कविता लेखन तथा वाचन कार्यक्रम आयोजना हुँदैछ ।
प्रतियोगितामा काठमाडाैं जिल्लाका १० वटा स्थानीय तहका प्याब्सनका सदस्य विद्यालयले सहभागिता जनाउँदैछन् ।
जसअनुसार जिल्लाका विभिन्न विद्यालयका ४५ जना विद्यार्थीले उक्त कविता लेखन र वाचन प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।
प्रतियोगिताका विजेताले १० हजार रुपैयाँ, उपविजेताले ७ हजार रुपैयाँ र तेस्रो स्थान हात पार्नेले ५ हजार रुपैयाँ नगदका साथै शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक धन बहादुर पुनले जानकारी दिए ।
कार्यक्रम बिहान १० बजेबाट सतुङ्गलस्थित आँगन रिसेप्सन (सतुङ्गल पार्टी प्यालेस)मा सुरु हुने चन्द्रागिरि नगर प्याब्सन अध्यक्ष सरोज महर्जनले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाबाट सो प्रतियोगितामा चार जना विद्यार्थीले भाग लिने अवसर पाएका छन् ।
गत महिना सम्पन्न प्याब्सन चन्द्रागिरि नगर अन्तर विद्यालय कविता लेखन प्रतियोगितामा शीर्ष तीन भित्र पर्न सफल विद्याथीहरूले चन्द्रागिरि नगरको प्रतिनिधित्व गर्दैछन् । जसमा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलस्थित हाई न्यू भिजन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छात्र आदर्श विज्ञान खड्का, चन्द्रागिरि-११ सतुङ्गलस्थित एम्ब्रोजिया आइडियल सेकेण्डरी स्कूलमा कक्षा ९ मा अध्ययनरत सम्पूर्ण काफ्ले, नैकापस्थित ब्राइट फ्यूचर माविकी छात्रा प्रिसा लेखक र बलम्बुस्थित विद्याश्री एकेडेमीकी छात्रा श्रीया पाैडेल रहेका छन् ।
चन्द्रागिरि प्याब्सन अन्तर विद्यालय कविता लेखनमा हाई न्यू भिजनका आदर्श विज्ञान पहिलो
भानुजयन्तीका अवसरमा काठमाडाैं प्याब्सनले विगत तीन वर्षदेखी विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै आएको छ ।
















