सहरी विकास मन्त्रालयबाट प्राप्त आयोजनाको अब ‘लाइभ’ अनुगमन हुने

Thankot Times

थानकोट ।

सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अब मन्त्रालय भित्रबाटै दैनिक अनुगमन हुने भएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गत काम भइरहेका त्रिवि क्रिकेट स्टेडियम, सिंहदरवार भित्रै बनिरहेको संघीय संसद् भवन, नवलपुर नमुना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरूलाई मन्त्रालयको कोठाभित्र बसेर अनलाइनमार्फत प्रत्यक्ष अनुगमन गर्न सकिने छ ।

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा अनलाइन अनुगमन कक्ष उद्घाटन गरे ।

सो क्रममा उपप्रधानमन्त्री सिंहले आयोजनाहरूको कार्यगति बढाउन र आइपर्ने समस्या हल गर्न अनलाइन अनुगमन कक्षबाट सहज हुने विश्वास व्यक्त गरे ।

‘सहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्ष आजबाट सञ्चालनमा आएको छ । यसले अनुगमनका क्रममा हुने खर्च र समय बचत हुने र आवश्यक समन्वयमा सहज हुँदा आयोजनाहरू समयमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास लिएको छु,’ मन्त्री सिंहले भने ।

उपप्रधानमन्त्री सिंहले अनुगमनका लागि फिल्डमा जाने पुरानो शैलीसँगै कामलाई सहज बनाउन र समस्याहरू तत्कालै हल गर्न प्रविधिको प्रयोग गरिने बताए ।

उनले शुरुबाट नै गम्भीर रूपमा अनुगमन गर्दै दिइएको निर्देशन पालना गरे समयमा काम सक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अनुगमन कक्ष औपचारिकता मात्र नभएर समयमा काम सम्पन्न गराउन यसको अधिकतम उपयोग गरिनुपर्नेमा पनि उपप्रधानमन्त्री सिंहले जोड दिए ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले आगामी दिनमा अरू आयोजनाहरू पनि अनलाइन अनुगमन प्रणालीमा जोडिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *