……अनि यसरी तयार भयो तीजको लहर आयो बरिलै

Thankot Times

थानकोट ।

२०४८ सालको कुरा हो ।

प्रकाश थापा ‘कन्यादान’ चलचित्रको तयारीमा थिए ।

सोही चलचित्रको गीतको लागि गीतकारको खोजीमा लागेका थिए उनी । सोही क्रममा उनी चेतन कार्की कहाँ पुगे ।

प्रकाशले कार्कीलाई प्रस्ताव राखे, ‘नयाँ चलचित्र कन्यादान बनाउँदैछु । त्यसका लागि गीत लेख्न भ्याउनुहुन्छ ?

थापाले कार्कीलाई गीतको सन्दर्भबारे बताएका थिए । थापाले भनेअनुसार त्यसलाई कल्पना गरेर कार्कीले लेखे ;–
‘गाऔं स्वर खोलेर दिदी र बहिनी
नाचौं न मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै’
भिडियोमा चलचित्र ‘कन्यादान’की मुख्य कलाकार गौरी मल्ल, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल लगायतको अभिनय छ । गौरी मल्ल एकल महिलाको भूमिकामा, शुभद्रा उनकी सासू को भूमिकामा, अनि बसुन्धरा गाउँले संगीको भूमिकामा छन् ।
यीनै पात्रलाई समेटेर सो तीजको गीतको भिडियो तयार भयो ।
बसन्त श्रेष्ठको कोरियोग्राफीमा गीतको भिडियो बनेको हो । गीतको सुरुआतमा तीज आएको जनाउँदै दीदीबहिनीलाई स्वर खोलेर गाउन र मिलेर नाच्न संगीसाथीलाई आग्रह गरिएको छ ।

नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला ? को कहाँ पुग्ने केही थाहा नभएकाले दुःख बिर्सिएर मनको धोको पुर्याएर गाउन आग्रह गरिएको छ । चेलीलाई माइत आउन भदौंरे भेलले नरोकेको भाव ब्यक्त गरिएको छ । त्यस्तै, सासू, आमाजू, नन्दले दिने गरेका दु:ख बिर्सिएर रमाउन आग्रह गरिएको छ ।
गीतमा श्रीमानको दीर्घायुको कामना गरिएको छ ।
चलचित्र सार्वजनिक भएसँगै गीतको निकै चर्चा पायो । र, हरेक स्रोता एवं दर्शकको प्रिय गीत बन्यो । हरेक वर्ष तीजमा यस गीत अनिवार्यजस्तै बन्न पुग्यो ।
अन्य केही नेपाली चलचित्रमा तीजको गीत समावेश गरियो । तर, यस गीतले जति लोकप्रियता अरुले कमाउन सकेनन् । यसअर्थमा यो गीत तीजको लागि, महिलाहरुको लागि, स्रोताहरुको लागि एउटा स्वर्णीम कोशेली बन्यो ।
चलचित्रका निर्देशक प्रकाश थापाको, गीतको भिडियोमा देखिएकी कलाकार सुभद्रा अधिकारीको तथा गीतकार चेतन कार्कीको निधन भइसकेको छ ।
– सुशील नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *