मेयर जापान भ्रमणमा, मध्यरातमा उपमेयर शाक्यले फेसबुकमा स्टाटस लेखेपछि कीर्तिपुरमा तरङ्ग !

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोल अहिले जापान भ्रमणमा व्यस्त छन् । भदाै ७ गते जापान उडेका मेयर डंगोल भदाै १७ गते नेपाल फर्कने तालिका छ ।

जापानको ओसाका इबाराकी नगरपालिका र कीर्तिपुर नगरपालिकाबीच भगिनीय सम्बन्ध स्थापना गर्ने पहल अन्तर्गत, कीर्तिपुर नगरपालिकाको तर्फबाट इबाराकी नगरपालिकामा आधिकारिक भ्रमणका मेयर डंगोल जापान उडेको उनको सचिवालयले जनाएको छ ।

सो भ्रमणमार्फत कीर्तिपुरको पर्यटन प्रवर्द्धन, सांस्कृतिक चालचलन आदान–प्रदान, प्रविधि हस्तान्तरण, प्रणाली सिकाइ लगायतका क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावनाहरू खोजी गरिने सचिवालयद्वारा विज्ञप्तीमा उल्लेख छ ।

सो ऐतिहासिक पहलले दुवै नगरपालिकाबीचको आपसी सम्बन्धलाई सुदृढ बनाउँदै भावी विकासका लागि नयाँ मार्ग प्रशस्त गर्ने विश्वास लिइएको बताइएको छ ।

मेयर डंगोल जापानमा भइरहेका गतिविधिमा सहभागी भएका दृश्य उनको सचिवालयले सामाजिक सञ्जाल मार्फत निरन्तर जानकारी गराइरहेको देख्न सकिन्छ ।

यता, कीर्तिपुर नगरकी उपप्रमुख शुभ लक्ष्मी शाक्यले नगरप्रमुख कृष्णमान डंगोलले विदेश उड्नुअघि कार्यवाहकको जिम्मेवारी नतोकेको कारण आफुले नगरबासीहरूका लागि नगर प्रमुखकाे पदीय हैसियतबाट हुने कार्य सम्पादन उपप्रमुखबाट नहुने जनाएकी छन् ।
उनले नगरप्रमुखले विदेश जानुपूर्व कार्यवाहकको जिम्मेवारी नदिएकोले नगरबासीहरूलाई सहयोग गर्न नसक्ने जनाएकी हुन् । 

आदरणीय कीर्तिपुर नगरवासीमा अनुरोध !!!
विपन्न नागरिक औषधि उपचार कार्यक्रम लगायतका सिफारिसहरुका लागि नगरपालिका प्रमुखबाट निर्णय लगायतका सिफारिसमा हस्ताक्षर गर्नु पर्ने व्यवस्था रहेकोमा निजको अनुपस्थितिमा उपप्रमुखबाट हस्ताक्षर गराउनकाे लागि दैनिक सेवाग्राहीहरुकाे माग भएको सन्दर्भमा मिति २०८२-०४-२७ मा भएको नगर कार्यपालिका बैठकबाट पारित गरि कीर्तिपुर नगरपालिकाका प्रमुखज्यू २०८२-०५-०७ देखि १७ गतेसम्म मित्र राष्ट्र जापानको भ्रमणमा जानु भएको तर ​स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा १६ को उपदफा (४) को खण्ड (क) १२ को व्यवस्था अनुसार कार्यबाहककाे जिम्मेवारी नतोकिकन विदेश भ्रमणमा जानु भएको हुँदा प्रमुखकाे पदिय हैसियतबाट हुने कार्य सम्पादन उपप्रमुखबाट नहुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं ।
बुधबार राति ११ः४० बजे कीर्तिपुर नगरकी उपप्रमुख शुभ लक्ष्मी शाक्यको सचिवालयले यो व्यहोरा फेसबुकमा राखेको हो ।
यसपछि बिहीबार बिहान ०६ः१५ बजे उपमेयर शाक्यको सचिवालयले फेसबुकमा अर्को स्टाटस राखेको छ-
कीर्तिपुर नगरपालिकाको प्रशासनिक संरचना भन्दा बाहिरबाट प्राप्त ईमेल-पत्रका आधारमा विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालनका लागि गठन हुने स्थानीय तह स्तरको सिफारिस समितिको संयोजक भई काम गर्नका लागि अख्तियारी दिइएकोमा कुन नियम वा कानुन अन्तर्गत हो, त्यो स्पष्ट नभएको र नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ वा अन्य कुनै विशेष कानुनको धारा, दफा पनि उल्लेख नभएको र २०८२-०५-११ मा ईमेल गरेर त्यस अगाडिको मिति (Back Date) उल्लेख गरेर सोहि बमोजिम चलानी समेत गरेको देखिंदा यसरी कानुन विपरीत दिईएकाे अख्तियारीका आधारबाट काम कार्वाही अगाडि बढ्न नसक्ने ब्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ