यसवर्षको दसैँका लागि खाद्य संस्थानले दुई हजार खसीबोका र च्यांग्रा ल्याउने
थानकोट ।
सरकारले यस वर्षको दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ ।
यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्यांग्रा खरिद गर्ने प्रादेशिक कार्यालयमा पत्राचार गरिसकेको छ ।
यो वर्ष दाङ, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा खरिद गर्न पत्राचार गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताए ।
“यसवर्ष जम्मा दुई हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेका छौँ । जसमा ५०० च्यांग्रा र एक हजार ५०० खसीबोका हुनेछन्,” उनले भने ।
खसीबोका तथा च्यांग्रा खरिद गरिने जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीयो)को अध्यक्षतामा गठित मूल्य निर्धारण समिति हुन्छ । यही समितिले स्थानीय बजार मूल्य र खरिद मूल्यको आधारमा खरिद मूल्य तोक्ने पौडेल बताउँछन् । खाद्यले खरिद गरेर ल्याएका खसीबोका र च्यांग्रा घटस्थापनाबाट बिक्री सुरु हुने उनले बताए । बिक्री काठमाडौंको थापाथलीस्थिति प्रादेशिक कार्यालयबाट गरिने छ ।
गत वर्ष दाङबाट ४००, नवलपुरबाट ५०० र वीरजञ्जबाट ५०० गरी कुल १४ सय खसीबोका खरिद गरिएको थियो ।
दाङ, नवलपुर र हेटौँडाबाट फरक–फरक मूल्यमा ल्याएर खाद्यले जिउँदो खसीबोका प्रतिकिलोग्राम (प्रतिकेजी) ६६० रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले प्रतिकेजी ६७० रुपैयाँमा खसीबोका बिक्री गर्ने निर्णय गरेको भए पनि १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको थियो ।
त्यस्तै, गत वर्ष खाद्यले ३०० च्यांग्रा खरिद गरेको थियो । च्यांग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँमा बिक्री गरिएको थियो । यो वर्ष भने खरिद मूल्य नै निर्धारण भएको छैन् ।
त्यसैगरी खसीबाका तथा च्यांग्रा अनलाइनबाट नै बुकिङ गर्ने गरी सिस्टम बनाउन लागिएको पनि पौडेलले बताए । “हामीले दसैँमा खसीबोका र च्यांग्रा अनलाइनबाट नै अडर गर्न सकिने व्यवस्था गर्न लागेका छौँ,” उनले भने, “अनलाइनबाट बुकिङ गर्दा उपभोक्ताले केही प्रतिशत रकम बुझाउनुपर्नेछ ।”
खाद्यले दसैँलक्षित सहुलियत पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।












