प्रत्येक वर्ष भाद्रकृष्ण चतुर्दर्शीका दिन हुने सो कार्यक्रमअन्तर्गत गणेश, भैरव र कुमारीको रथ यात्रा गरिने कार्यक्रममा राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्रिगण, विभिन्न मुलुकका राजदूतलगायतको सहभागिता हुनेछ ।
कथाअनुसार कुनै समय प्राचीन काठमाडौँ (काष्ठमण्डप) अर्थात् नेपालमण्डलमा एक दिन देवताका राजा इन्द्रले पूजाका लागि आमालाई मन पर्ने पारिजातको फूल चोरी गरेपछि यहाँका बासिन्दाले उनलाई समातेर डोरीले बाँधी सजाय दिएका थिए ।
उनले आफ्नो परिचय दिएपछि नेपालमण्डलमा बसोबास गर्ने मानिस बडो अनर्थ भयो भनी त्रासले अतालिए । सो खबर इन्द्रकी माता डाकिनीले थाहा पाएपछि आफ्ना छोरालाई लिन नेपालमण्डल आइन् । त्यसपछि सो घटनालाई वर्षमा एक पटक स्मरण गर्न जात्रा निकाल्ने सहमति भएपछि इन्द्र डाकिनीलाई जिम्मा लगाइएको थियो ।
इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन रहेपनि आज शनिबार परेको छ ।


















