कलंकी क्षेत्रमा मोटरसाइकल चोरीमा संलग्न ६ जना पक्राउ, पक्राउ पर्नेमा सबै धादिङ एकै गाउँका

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिका–१० स्थित स्युचाटारबाट प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएका  बिजय तामाङ,नरेश रुम्बा, देवेन्द्र थिङ, बिर बहादुर तामाङ, दिपक तामाङ र नारायण तामाङ छन् ।

उनीहरू सवै जना धादिङको गजुरी गाउँपालिकाका स्थानीय हुन् ।

समूह बनाएर मोटरसाइकल चोर्ने उनीहरूलाई प्रहरी वृत्त कालिमाटीका डीएसपी मधु थापा र उपत्यका अपराध अनुसन्धान कार्यालय कालीमाटी शाखाका प्रहरीहरूले भदौ १८ मा मध्यराती पक्राउ गरेका हुन् ।

सिसिटिभी फुटेजको आधारमा पछ्याएर आरोपीहरूलाई मध्यरात १ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए ।

आरोपीहरूले कालीमाटी र कलङ्की क्षेत्रमा २० वटा मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । त्यस्तै सो गिरोहले मच्छेगाउँ, स्वयम्भु, बल्खु, न्युरोड, कीर्तिपुर, र स्युचाटारमा मोटरसाइकल चोरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रहरीसँग जम्काभेट भएपछि उनीहरुले प्रहरीलाई आक्रमण प्रयास गरेका थिए ।

पक्राउ गर्ने क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका ४ जना प्रहरी कर्मचारी घाइते भएका छन् । आरोपीहरूले चोरेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरुले चोरेको बागमती प्रदेश–०२–०३५ प ५८०९ नम्बरको पल्सर एनएस मोटरसाइकल, बागमती प्रदेश–०२–०४४ प ६६३७ नम्बरको एमटी मोटरसाइकल र बागमती प्रदेश–०३–०१५ प ७६१२ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।

आरोपीहरू विरुद्ध अदालतबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *