भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै

थानकोट ।

भक्तपुरको मध्यपुर थिमिमा आज साँझ ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा) हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका अवसरमा हुने सो जात्रा मध्यपुर थिमि नगरपालिका वडा नं. ५ दिगुलीस्थित दिगुभैरव डबलीबाट साँझ ७ः०० बजे सुरु हुनेछ ।

मध्यपुर थिमि–४ बालकुमारीका साहसी संस्कृतिप्रेमी युवा वीरेन्द्रभक्त गजु श्रेष्ठले यस वर्षपनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् ।

मध्यपुर थिमिमा दुईवटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ ।

पहिलो बिस्काः जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात् आश्विन शुक्ल पूर्णिमाको दिन थिमिमा मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।

दुवै जात्राको आ-आफ्नै विशेषता छ ।

बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ ।

तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जनाभन्दा धेरै पनि हुनसक्छ ।

यो जात्रामा जिब्रो छेडाउन इच्छ्याएको व्यक्ति धेरै भएमा एक जनाभन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ । 

यस वर्ष जात्रा अवलोकनका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, बागमती प्रदेश सरकार पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायतको उपस्थिति रहने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *