बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित छ- छाता संगठन

Thankot Times

थानकोट ।

सोमबार र मंगलबार देशभर भएको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ ।

आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यालयमा क्षति पुगेको हो ।

प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यालयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यालयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको उनले बताए ।

त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको कोइरालाको भनाइ छ ।

उनका अनुसार हालसम्म कुनै पनि बैंकको कार्यालयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भने भएका छन् ।

मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको उनले बताए ।

बैंकका कार्यालयमा भएको क्षतिका सन्दर्भमा बुधबार मात्रै संकलन सुरु गरेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *