गभर्नर पौडेलको प्रश्न: म सँगको रिस मेरो बुवाआमालाई किन ?
थानकाेट ।
मंगलबार भएको युवा आन्दोलनका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको गाउँको घर निशाना बनाइएको छ।
गभर्नर पौडेलले सामाजिक सञ्जालमा घरमा लागेको क्षति र पारिवारिक अवस्थाबारे जानकारी दिएका छन्। उनले भनेका छन्, ‘भिडियोमा सुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षीया आमाको सुत्ने कोठा हो। उहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो।’
गभर्नर पौडेलले थपेका छन्, ‘यो मेरो गाउँको घर हो। गभर्नर भए पनि हरेक हप्ता म एक छाक भए पनि बाआमासँग खाना खान पुग्ने गर्थे। बा ले लगभग १५ वर्ष अघि म विद्यार्थी छँदा बनाएको घर हो। अहिले मेरो बा ८७ वर्षका हुनुहुन्छ। केही अघि रक्त अल्पता भइराखेर बाँच्नुहुन्न कि जस्तो भएको थियो, अहिले सन्चो हुनुहुन्छ।’
उनले आफ्नै भैसेपाटीको घरको क्षतिको विवरण समेत सार्वजनिक गर्दै भने, ‘यो घर मैले योजना आयोगको उपाध्यक्ष हुनु अघि नै छात्रवृत्ति र देश–विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको हो। श्रीमती र मेरी ९ वर्षीया छोरीलाई यो घर धेरै मन पर्ने भएकोले गभर्नर भएपछि पनि यहीँ बस्ने गर्थ्यौं। घर भित्रको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले ईबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा ल्याएका कलाकृति थिए। देवी देवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति थिए। ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो।’
पौडेलले थपे, ‘अस्ति यो घर जल्नु दुई घण्टा अगाडि मात्रै प्रख्यात अनलाइनमा खबर आयो। पछि घर भित्र मानिस गएर बा आमाको फोटो, मेरी छोरीको सानो फोटो कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिएको एउटा मन्त्रको खेलौना पनि कुल्चिए र आगो लगाइयो। राति मेरी छोरी र श्रीमती नजिकको घर गएर सुते। म अर्को ठाउँमा थिएँ। मेरा साथीहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैँ चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिन।’
गभर्नर पौडेलले आफ्नो जीवन र मूल्यबारे पनि बताएका छन्, ‘जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ मागेको छैन, दिएको मात्र हुँला। नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।’ उनले भनेका छन्, ‘मेरो रिस मेरो भैसेपाटीको घर जलाएर नपुगी, मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथीहरूको फलोस् फुलोस्।’













