यातायात सुचारु गर्ने अझै अनिश्चित

Thankot Times

थानकोट ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सेवा सञ्चालन अनिश्चित रहेको जनाएको छ ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनले उग्ररूप लिएपछि मंगलबारदेखि यातायात व्यवसायीहरूले यातायात सञ्चालन अनिश्चितकालका लागि बन्द गरेका थिए । 

हाल नेपाली सेनाले देशको सुरक्षाको जिम्मा लिएको छ । यससँगै अहिले देशभर निषेधाज्ञा र कर्फ्यु लगाइएको छ ।

यस कारण अत्यावश्यक सामग्री ढुवानीका सवार, एम्बुलेन्स दमकल लगायत मात्र सञ्चालनमा छन् । अन्य यातायात ठप्प रहेको छ । 

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले देशको वर्तमान विषम परिस्थितिमा तत्काल के गर्ने भन्ने निर्णय गर्ने अवस्था नरहेको बताए । तर उपयुक्त  वातावरण तयार भएपछि सेवा दिन तयार रहेको बताए ।

सिटौलाका भन्छन्, ‘अहिले हामी के गर्ने भन्ने निर्णय गर्ने अवस्थामा छैनौँ । देश सबै ठप्प छ र, यो अवस्थामा हामीले यो गर्छौँ भनेर हुने अवस्था पनि छैन ।’ उनले सहज रूपमा सेवा सञ्चालन गर्ने अवस्था आएमा आफूहरूले सुरु गर्ने स्पष्ट पारे ।

यद्यपि, यातायात सेवा सञ्चालनका विषयमा अहिलेसम्म सरकारको तर्फबाट कुनै पनि निकायले छलफल नगरेको सिटौलाको गुनासो छ । ‘हामीलाई अहिलेसम्म सरकारको तर्फबाट कसैले छलफल गरेको छैन,’ उनले भने, ‘नेपाली सेना वा सरकारले छलफल गरेर यातायात सुचारु गर्न सरकारले के गर्न सक्छ भन्छ भने हामी त्यही अनुसार गर्न तयार छौँ ।’

महासङ्घले देशमा उत्पन्न असहज परिस्थिति र ठप्प भएको अवस्थामा यातायात सञ्चालनका लागि सरकारी निकायमार्फत आवश्यक पहल भएपछि मात्रै यातायात सुचारु गर्न सकिने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *