पेट्रोलियम पदार्थको माग घट्यो, पर्याप्त स्टक भएकाले सटेज नहुने
थानकोट ।
देशभर पेट्रोलियम पदार्थ स्टक पर्याप्त रहेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्टक पर्यात रहेको छ । साथै आजदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सुचारु भएको छ ।
सोमबारबाट सुरु भएको जेन जीको आन्दोलन चर्किएपछि भारतीय नाकामा कडाइ गरेको थियो । तर पाइपलाइनबाट भने आपूर्ति नरोकिएको उनको भनाइ छ । ‘आज (बिहीबार) बिहानैदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका गाडीहरू छुट्न थालेका छन्,’ उनले भने ।
पाइपलाइनबाट पनि पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको निर्देशक भट्टले बताए । एलपी ग्यासको बुलेटहरू पनि छुटिरहेकाले ग्यास आपूर्तिमा समेत कुनै समस्या नभएको निगमले जनाएको छ ।
कार्यकारी निर्देशक भट्टका अनुसार काठमाडौँमा पेट्रोलियम पदार्थको स्टक करिब ७५ देखि ८० प्रतिशत क्षमतामा रहेको छ । यसले गर्दा एक–दुई दिन आपूर्ति बन्द भए पनि कुनै समस्या नहुने र कम्तिमा १० देखि १२ दिनसम्म मज्जाले धान्न सकिने कार्यकारी निर्देशक भट्टले जानकारी गराए ।
हवाई इन्धनको अवस्था पनि सन्तोषजनक रहेको उहाँले उल्लेख गरे । करिब ७, हजार ५ सय किलोलिटर क्षमतामध्ये अहिले ६ हजार किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ ।
यो स्टकले १३ देखि १४ दिनसम्मको लागि पर्याप्त हुने उनको भनाइ छ । उनका अनुसार हाल यातायात सञ्चालन न्यून रहेकाले हवाई इन्धनको खपत पनि कम भइरहेको छ ।

















