नक्खु कारागारले भन्यो: फरार कैदी बन्दी आत्मसमर्पणमा आउनुस्
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बसिरहेको नक्खु कारागारले भदौ २४ को घटनाका क्रममा फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर कारागार प्रशासनले फरार भएका सबै थुनुवा र कैदीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।
‘मिति २०८२ भाद्र २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न यसै सार्वजनिक अपिलमार्फत हार्दिक अनुरोध गर्दछौँ,’ कारागार प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
फरार भइरहे कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनः स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्न सक्ने पनि कारागार प्रशासनले चेतावनी दिएको छ।
यस्तै विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क गरी आत्मसमर्पण गर्न पनि आग्रह गरिएको छ। ‘सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदी बन्दीहरूलाई यसै सूचनामार्फत औपचारिक रूपमा अपिल गरिन्छ,’ सूचनामा भनिएको छ।
रास्वपा सभापति लामिछाने सहकारीको बचत रकम हिनामिना प्रकरणमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा थिए। भदौ २४ गते ठुलो संख्यामा समर्थकको भिड कारागार पुगेपछि सुरक्षा चुनौती देखाउँदै कारागार प्रशासनले उनलाई छाडेको थियो।
लामिछानेलाई छाडेपछि कारागारका बाँकी कैदी बन्दी पनि निस्किएको बताइएको छ। त्यसपछि देशभरबाट १६ हजारभन्दा बढी कैदी बन्दी निस्किएका थिए।


















