चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दहलरूले उम्मेदवार सिफारिस एवं चयनको कार्यलाई तिव्र बनाएका छन् ।

समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरूले प्रत्यक्षतर्फ उम्मेदवार छान्न ध्यान केन्द्रीत गरेका हुन् ।

कतिपय निर्वाचन क्षेत्रमा उम्मेदवाहरूको नाम एकल सिफारिस हुँदा कैंयन क्षेत्रमा आकांक्षीहरूको संख्या उल्लेख्य भएपछि इच्छा राख्ने सबैको नाम माथिल्लो कमिटिमा बुझाइएको राजनीतिक दहलरूले जनाएका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं क्षेत्र नम्बर १० बाट आसन्न निर्वाचनका लागि १६ जनाले टिकटका लागि दाबी गरेपछि सो पार्टीको क्षेत्रीय कमिटिको विस्तारित भेलाले ११ जनाको नाम माथिल्लो कमिटिमा पठाएको छ । सिफरिस भएकाहरुको नाम जिल्ला कमिटिको राय सुझावसहित प्रदेश कमिटिमा पुग्नेछ र केन्द्रीय कमिटिले उम्मेदवारको नाम टुङ्गो लगाउने छ ।

चन्द्रागिरि नगरका १० वटा वडा, कीर्तिपुर र दक्षिणकाली नगरका सबै इलाका समावेश रहेको यस क्षेत्रमा नेकपा एमालेमा चन्द्रागिरि नगरबाट चन्द्रागिरि नगरपालिका-०५ आकाश टोलका भक्तलाल श्रेष्ठ र चन्द्रागिरि नगरपालिका-०४ थानकोटका विनोद श्रेष्ठ  सिफारिस भएका छन् ।

भक्तलाल श्रेष्ठ काठमाडाैं जिल्ला कमिटिको सल्लाहकार, राष्ट्रिय जनसांस्कृतिक महासंघ काठमाडाैं जिल्ला अध्यक्ष, काठमाडाैं जिल्ला क्षेत्र नं. १० का क्षेत्रीय सदस्य एवं नेकपा एमाले काठमाडाैं जिल्ला खानेपानी तथा सरसफाइ विभाग सदस्य हुन् । विनोद श्रेष्ठ जीफन्टमा लामो समयदेखी क्रियाशील छन्, गत महिना सम्पन्न सो पार्टीको महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

सोमबार बसेको एमालेको क्षेत्रीय कमिटी बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा हिमेश के.सी. को समेत नाम सिफारिस गरेको छ । उनी २०७९ को निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार बनेका थिए । जुन चुनावमा तत्कालीन गठबन्धनका उम्मेदवार राजेन्द्रकुमार केसीले बाजी मार्दा सूर्य चिन्हका केसी दोश्रो बनेका थिए । यस्तै, डा.सुरेन्द्र मानन्धर पनि फागुन २१ को निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी गत स्थानीय तहको उप निर्वाचनमा कीर्तिपुर नगरको मेयर पदमा पराजित भएका थिए । काठमाडाैं क्षेत्र नं. १० मा नेकपा एमालेबाट सिफारिस हुनेहरूमा सरस्वती रिजाल खड्का, केशरत्न बज्राचार्य, बटुकृष्ण थापा, सरव कुमार महर्जन, रुपेश बास्कोटा, सुर्यबहादुर बुढाथोकी, सुमन पोखरेलसमेत रहेका छन् । बैठकमा सुरुमा १६ जनाको दाबी रहेकोमा ५ जनाले नाम फिर्ता लिएपछि ११ जनाको नाम प्रदेशमा पठाइएको हो ।

आकांक्षी २ जना चन्द्रागिरि नगर क्षेत्रका रहँदा बाँकी ९ जना कीर्तिपुर इलाकाका हुन् ।

दक्षिणकाली इलाकाबाट आकांक्षीहरूले नाम फिर्ता लिएको बैठकमा सहभागी एक नेताले बताए।


One thought on “चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस

  1. सरद कुमार महर्जन हैन
    बागमती प्रदेश कमिटी सदस्य कीर्तिपुर नगर कमिटी ईन्चार्ज
    २०४९ सालको संगठित सदस्य
    २०५४ सालको कीर्तिपुर नगरपालिका वडा नं १० निर्वाचित अध्यक्ष।

Leave a Reply to Sarab Kumar maharjan Cancel reply

Your email address will not be published. Required fields are marked *