प्रतिनिधि सभा सदस्य निर्वाचनः चन्द्रागिरि नगर क्षेत्रमा करिब ३ सय जना निर्वाचन प्रहरी फिल्डमा
थानकोट ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
निर्वाचन सुरक्षार्थ निर्वाचन प्रहरी र निर्वाचन सशस्त्र प्रहरीहरू सडकमा खटिन थालेका छन् ।
काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँहरूमा उनीहरू खटिन थालेका हुन् ।
प्रहरी परिसर काठमाडौं मातहत ३ हजार ८ सय ५४ निर्वाचन प्रहरी फिल्डमा खटिएका छ ।
निर्वाचन प्रहरी गस्तीमा खटिने तथा चेक जाँचमा तथा अन्य शान्ति सुरक्षामा समेत प्रहरीलाई सहयोग गर्नेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार निर्वाचन प्रहरीलाई परिसर मातहतको इकाई समूहमा खटाइएको र स्थानीय युनिटको कमान्डर तथा अन्य प्रहरीसँगै रहेर नियमित परिचालन हुन्छन् ।
निर्वाचन पूर्व शान्ति सुरक्षा कायम गर्न प्रहरीले गर्ने काम कारबाहीमा सहयोगीका रूपमा निर्वाचन प्रहरी परिचालन गरिएको हो ।
निर्वाचन प्रहरीलाई शान्ति सुरक्षासम्बन्धी प्रशिक्षणका साथै निर्वाचन अवधिमा उनीहरूले पालना गर्नुपर्ने जिम्मेवारीबारे जानकारी दिएर खटाइएको हो ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा प्रहरी वृत्त थानकोटको नेतृत्वमा यस क्षेत्रमा रहेका प्रहरी प्रभाग बलम्बु, मच्छेगाउँ, नैकाप, मातातिर्थ र नागढुंगाबाट निर्वाचन प्रहरी खटाइएको छ ।
प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार सो वृत्त मातहत १९९ जना निर्वाचन प्रहरी फिल्डमा खटिएका छन् । उनीहरू विभिन्न प्रहरी प्रभाग तथा इकाई समूहमा खटाइएको हो ।
यस्तै, प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्काका अनुसार सो प्रभाग मातहत १०० जना निर्वाचन प्रहरी फिल्डमा खटाइएका छन् । उनीहरू विभिन्न इकाई समूहमा खटाइएको हो । प्रहरी प्रहरी प्रभागमा वृत्त थानकोट र प्रभाग बलम्बुबाट निर्वाचन प्रहरी खटाइएका छन् । दुवै प्रहरी कार्यालयले २४ घण्टा निर्वाचन प्रहरी फिल्डमा खटाउनेछ ।
चन्द्रागिरिका नागढुंगा, वाणभञ्ज्याङ, सरस्वतीथान, थानकोट, चेकपोष्ट, खानेपानी चोक, राधाकृष्ण मन्दिर, गुर्जुधारा, नगरपालिका कार्यालय, नैकाप, बल्खु पुल, सतुङ्गल, नैकाप, ढुङ्गाअड्डा, मातातिर्थ, मच्छेगाउँ, सृजना चोक, एलआरआइ चोक लगायतका स्थानमा नेपाल प्रहरीको साथमा निर्वाचन प्रहरी परिचालन गरिएका छन् । यस्तै, मोबाइल ड्युटी तथा पैदल गस्तीमा समेत उनीहरूले जिम्मेवारी पाएका छन् । जसले दैनिक फिल्डमा खटिनुपर्नेछ ।
प्रहरीका अनुसार, यस परिचालनले सर्वसाधारणमा सुरक्षाको विश्वास जगाउने मात्र होइन, निर्वाचनको वातावरणलाई पनि थप मर्यादित बनाउने अपेक्षा गरिएको छ ।
निर्वाचन प्रहरीहरूको मुख्य जिम्मेवारी मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग गर्नु रहेको छ ।
रातको समयमा महिला निर्वाचन प्रहरी फिल्डमा खटाइएको छैन्, तर आवश्यकता अनुसार फिल्डमा खटाउन सकिने सम्बन्धित प्रहरी यूनिटहरूले जानकारी दिए ।
रातको समयमा ड्युटी पर्ने निर्वाचन प्रहरीले सम्बन्धित प्रहरी यूनिटमा आराम गर्ने गरि व्यवस्था गरिएको र अन्य निर्वाचन प्रहरी भने ड्युटी अवधिपछि आ-आफ्नो नीजि निवासमा फर्कन पाउने व्यवस्था छ ।


















