६०वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ- एमालेका अध्यक्ष ओली
थानकोट ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताउनुभएको छ ।
आफ्नो ६० वर्षे लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गर्दै उहाँले देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि आक्रमण भइरहेको जिकिर गर्नुभएको हो ।
झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउनेदेखि उत्तरतिरको नाका खोल्ने र दक्षिणमा हुलाकी राजमार्ग निर्माण गरेर मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराउनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकाहरूलाई देश चलाउने जिम्मा दिन नसकिने बताउनु भयो । देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै उहाँले देश बनाउने सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिन्दै नचिनेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
एमाले मात्रै देशको रक्षा गर्नसक्ने पार्टी भएको दाबी गर्दै उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनता एमाले रहुन्जेलसम्म तलमाथि पर्नै नसक्ने बताउनु भयो । उहाँले देशको एक–एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो । राणा शासनदेखि लडेर देशलाई यहाँसम्म ल्याइपुर्याएको पार्टी कुनै कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामीले चौतर्फी विकास गरेका छौं । हाम्रो पार्टी राजनीतिक रूपमा, सामाजिक रूपमा, सांस्कृतिक रूपमा, आर्थिक रूपमा हरेक हिसावले देशलाई कसरी अगाडि बढाउने भन्ने सोच छ । दीर्घकालीन सोच भिजन, त्यो भिजन कार्यान्वयन गर्ने नीति, त्यो नीति र अरु त्यसलाई कार्यान्वयन गर्ने कार्यक्रम, त्यो कार्यक्रम कार्यान्वयन गर्ने योजना, योजनाहरूलाई आवधिक ढंगले लक्ष्य निर्धारण गरेर समयमै सम्पन्न गर्ने त्यस ढंगले कामहरू गरिरहेका छौं । तर यहाँहरूलाई थाहा छ, यस देशमा देशलाई माया गर्दा विपक्षीहरूको पनि टाउको दुख्ने अरू कतिपय बाह्य शक्तिहरूको पनि टाउको दुखाइ । म यति धेरै प्रहारको निशानामा किन परेको छु । मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ, फेरि पनि गर्नेछैन । तर ममाथि यत्रो प्रहार किन ? म कमिसन खान्न, कमिसनखोर होइन । फेरि ममाथि यत्रो प्रहार किन ? म देशको बारेमा, जनताको बारेमा, देशको विकासको बारेमा, देशको सुरक्षाको बारेमा, देशमा शान्ति सुव्यवस्था अमन चयनको बारेमा, जनताको जिउधनको रक्षाको बारेमा सधैं सोचिरहन्छु, चिन्तित हुन्छु । त्यसका लागि काम गर्छु । फेरि मलाई यति अपमान, यति विरोध किन ? मैले यिनै काम गरेको हुनाले ? देशको माया गरेको हुनाले ? मिचिएको भूभाग फिर्ता ल्याउन थालेको हुनाले ? उत्तरतिरबाट पनि बाटो खोलेको हुनाले ? विभिन्न नाकाहरू खोलेर उत्तरी दुर्गम क्षेत्रका जनतालाई पनि सहजता बनाएको हुनालेरु पिछडिएका मधेसका दक्षिण क्षेत्रका गाउँहरू हुलाकी राजमार्ग निर्माण गरेर दक्षिणका गाउँहरू आधुनिकतातर्फ लागेको हुनाले, दक्षिणको अर्थतन्त्रलाई पनि विकास गरेको हुनाले ?
मेरो विचारमा त्यसैकारणले, नेपालीहरूलाई जातजातमा विभाजन गर्न खोज्ने, धर्मधर्ममा विभाजित गर्न खोज्ने, भूगोलभूगोलमा विभाजन गर्न खोज्ने, फाटो ल्याउन खोज्ने, नेपाललाई कमजोर पार्न नेपालीहरूलाई एकतावद्ध हुनै नदिने खालका प्रयासहरूको विरुद्धमा म दह्रो गरी उभिएँ । त्यसैकारण मेरो अपमान, त्यसैकारण झुटा लाञ्छना र आरोपहरू । किन एमालेमाथि हमला यत्रोरु एमालेले देश बनाएको छ, देशमा ठूलो परिवर्तन ल्याएको छ। परिवर्तन ल्याउने पार्टीका विरुद्ध अब परिवर्तन चाहियो रे भनेर परिवर्तन के हो भन्ने नथापाएका, परिवर्तनको बारेमा नसोचेका तत्वहरू परिवर्तन अहिले त परिवर्तन । के परिवर्तन भन्दा ? देश बनाउनेलाई नदिएर चिन्दै नचिनेकालाई दिनुपर्ने रे भोट । देश बनाउन सफल सक्षमलाई नदिएर असफल भइसकेकालाई दिनुपर्ने रे भोट । अब प्रधानमन्त्री कस्तालाई बनाउने रे भने एउटा पालिका चलाउन नसकेर फेल खाएर जानुपर्नेलाई देश चलाउने जिम्मा दिनुपर्ने रे, प्रधानमन्त्री बनाउने रे । यो देश मजाक गर्ने ठाउँ हो यो ? यो देश प्रयोगशाला हो कसैको ? होइन । त्यसो भए, यस देशलाई फेरि शान्तिपूर्ण वातावरण र परिस्थितिमा फर्काउन, देशको रक्षा गर्न, देशमा लोकतन्त्रको पुनर्बहाली गर्न, देशमा सुशासन, शान्ति सुव्यवस्था बहाल गर्न र भ्रष्टाचार नियन्त्रण गर्न, जनतालाई सेवा सुविधाहरू ठीक ढंगले उपलब्ध गराउन, देशको अर्थतन्त्रलाई अगाडि बढाउन, विकासको गतिलाई तिब्रता दिन, हामीले अगाडि बढाएका महान अभियानलाई बेरोकतोक अगाडि बढाउन, हाम्रो सामाजिक मूल्यमान्यताहरू, ती मूल्यमान्यताहरूलाई कायम राख्न, रक्षा गर्न, हाम्रा संस्कृति, कतिपय कुराहरूमा नमिल्दा कुराहरू पनि होलान् तिनलाई हटाउँदै जाउँला, हटाउँदै जानुपर्छ बेथिति कुराहरूलाई पुरातन कुराहरूलाई ।
तर, हाम्रो संस्कृति हाम्रा संस्कारहरू हजारौं वर्ष लगाएर हाम्रा पुर्खाहरूले विकास गरेका कुरा हुन् तिनको रक्षा, तिनको संवद्र्धन गर्नुपर्ने छ । तसर्थ म आग्रह गर्न चाहन्छु, म आग्रह गर्न चाहन्छु कि हामी यतिबेला अलमलिनु हुँदैन । नेकपा एमाले मात्रै यस्तो पार्टी हो जसले देशको रक्षा गर्न सक्छ । म दाबाका साथ भन्छु, म घोषणा गरेर भन्छु, दृढताका साथ भन्छु यस देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता तलमाथि पर्नै सक्दैन किनभने यस देशमा नेकपा एमाले छ । यो देशको भूमिको रक्षा गरिनेछ एक एक इन्च भूमिको रक्षा गरिनेछ किनभने यस देशमा नेकपा एमाले छ ।
नेकपा एमाले जोगिनका लागि नबोल्ने, छाला बचाउनका लागि घुँडा टेक्ने, टाउको जोगाउन शिर झुकाउने कायर काम गर्ने पार्टी होइन । यो पार्टी लडेर राणा शासनदेखि यहाँसम्म देशलाई ल्याइपुर्याउने, अन्धकार राणा शासन युगबाट यहाँसम्म ल्याइपुर्याउने नेकपा एमाले, त्यसको वैचारिक नेतृत्व र व्यावहारिक नेतृत्व गर्ने नेकपा एमाले कसैका कुनै कठपुतलीसँग डराएर पिठ्यूँ फर्काउने वाला पार्टी होइन ।’
देशमा सुशासन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण र विकासको गतिलाई तिब्रता दिन एमालेले अगाडि बढाएको अभियानलाई बिना रोकतोक अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
साथै, हजारौं वर्ष लगाएर पूर्खाहरूले विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरूलाई भने हटाउँदै जानुपर्ने अध्यक्ष ओलीले बताउनुभयो ।


















