चेकपोष्ट दाउराडिपोमा हेर्नै नसकिने सडक दुर्घटना, स्थानीयले ट्रकमा राखे दुवै मोटरसाइकल
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डको थानकोट चेकपोष्टस्थित खानेपानी चोकमा आइतबार अपरान्ह विपरित दिशामा गुडेका दुई मोटरसाइकल ठोक्किएपछि आङ नै सिरिङ्ग हुने दुर्घटना भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा प्र ०२ ०४३ प ४८५१ नम्बरको मोटरसाइकल र लेन क्रस गर्न लागेको बा प्र २ ०५९ प ३८९९ नम्बरको मोटरसाइकल ठोक्किएपछि ४८५१ को मोटरसाइकल करिब ५० फिट परसम्म घिस्रिएको थियो । सो क्रममा उक्त मोटरसाइकलका चालक थानकोटका १९ वर्षीय श्रीयन उपरकोटी सख्त घाइते बनेका छन् । यस्तै, ४८५१ नम्बरको मोटरसाइकल चालक कीर्तिपुर बस्ने २१ वर्षीय लोकेश धामीसमेत घाइते भएका छन्।
उनीहरू दुवैलाई स्थानीय समेतको सहयोगमा सुरक्षाकर्मीले उद्दार गरि अस्पताल पुर्याएका थिए । हाल दुवैको सतुङ्गलस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचार भइरहेको छ प्रहरी वृत्त थानकोटले जनाएको छ ।
दुर्घटनामा बा प्र ०२०४३ प ४८५१ नम्बर मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ, ४८५१ नम्बरको मोटरसाइकल पनि क्षतिग्रस्त बनेको ट्राफिक प्रभाग थानकोटले जनाएको छ ।
ती दुवै मोटरसाइकल प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ ।
घटनाका बारेमा थप विवरण संकलनको कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
ओरालो र टी जक्सन भएका कारण सो क्षेत्रमा दैनन्दिनी साना ठूला सडक दुर्घटना भइरहेपनि दुर्घटना न्यूनिकरणका उपाय अवलम्बनमा स्थानीय तह, सडक विभाग, ट्राफिक प्रहरी, नेपाल प्रहरी कसैलेपनि चासो दिएका छैनन् ।


















