आईसीसी टी-२० विश्वकप क्रिकेट: रनको वर्षा भएको खेलमा वेस्ट इण्डिजको सहज जित

Thankot Times

थानकोट ।

आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर-एट’ मा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनले हराएको छ ।

भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा सोमबार राति वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमायो ।

जिम्बावेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनायो । वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २/२ विकेट लिए ।

टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलङ्काले केन्यासँगको खेलमा २ सय ६० रन बनाएको थियो ।

यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–एट’ को समूह १ मा शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावे पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार इङ्ग्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । यो खेल श्रीलङ्काको पल्लेकेलेमा बेलुका सवा ७ बजे शुरू हुनेछ ।

तस्बिर: गेटी इमेजेज्


Leave a Reply

Your email address will not be published. Required fields are marked *