आगामी २४ घण्टाको मौसम जानाैं
थानकोट ।
देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । चारवटा प्रदेशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराई भू-भागका केही स्थानमा बिहान हुस्सु लागेको छ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ ।
बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति तराई भू-भागका थोरै स्थानमा तुँवालो लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ विभागले बताएको छ ।


















