अध्यागमन विभागको पत्रपछि नेपाली फुटबलमा हलचल, पुरुष र महिला दुवै राष्ट्रिय लिग स्थगित
थानकोट ।
शहीद स्मारक महिला राष्ट्रिय लिग फुटबल स्थगित भएको छ ।
पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन शुरू गरेसँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै महिला लिग स्थगित गरेको हो ।
लिगमा सहभागी ९ वटा क्लबलाई पत्राचार गर्दै एन्फाले अर्काे सूचना नभएसम्मका लागि प्रतियोगिता स्थगित गरेको जानकारी गराएको छ । एन्फाको आयोजनामा महिला लिग गएको बुधवारदेखि शुरू भएको थियो ।
यसअघि एन्फाले राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको थियो ।
यसअघि अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलमा सहभागी नगराउन एन्फालाई पत्राचार गरेको थियो । पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई नियम विपरीत खेलाइएको पाइएमा कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
पर्यटकीय भिसामा रहेका खेलाडीहरू एन्फाले सञ्चालन गरिरहेको राष्ट्रिय महिला तथा पुरुष लिग खेलेको भन्ने उजुरी परेपछि अध्यागमन विभागले एन्फालाई पत्राचार गरेको हो ।
पर्यटक भिसामा रहेका विदेशी खेलाडीलाई लिगमा नखेलाउन अध्यागमनको निर्देशन
















