चन्द्रागिरिबाट २३६२ विद्यार्थी एसईईमा सहभागी हुने, ब्राइट फ्यूचरका सबैभन्दा धेरै १४७ जना
थानकोट ।
शिक्षा विकास तथा समन्वय इकाइ काठमाडाैंले यस वर्ष (२०८२) माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी हुने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ ।
आइतबार (चैत्र ८) इकाइले सो विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार चन्द्रागिरि नगरका विभिन्न ६६ विद्यालयका २३६२ जना विद्यार्थी यस परीक्षामा सहभागी हुनेछन् ।
जसका लागि विभिन्न ११ परीक्षा केन्द्र निर्धारण भएका छन् ।
चन्द्रागिरि नगर क्षेत्रमा उक्त परीक्षा सञ्चालनका लागि पाँच स्थानमा परीक्षा केन्द्र तोकिएका छन् ।
यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न चन्द्रागिरिमा ५ परीक्षा केन्द्र (सूचीसहित)
जसमा विद्यामन्दिर मावि नैकाप (१४ विद्यालय, ३०७ परीक्षार्थी), विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गल(१२ विद्यालय, ४४१ परीक्षार्थी), रिब्स मावि महादेवस्थान (७ विद्यालय, ३६१ परीक्षार्थी), प्रभात मावि चेकपोष्ट(१२ विद्यालय, ४१० परीक्षार्थी), मंगलोदय मावि थानकोट (९विद्यालय, ३९६ परीक्षार्थी) परीक्षा केन्द्र रहेका छन् ।
थानकोट टाइम्सलाई प्राप्त विवरण अनुसार साधारण धारतर्फ यस वर्ष नैकापस्थित ब्राइट फ्यूचर माविका १४७ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनेछन् । संस्थागततर्फ यो चन्द्रागिरि नगरमा कुनैपनि विद्यालयबाट यो सालको एसईईमा सहभागी हुने विद्यार्थीहरूको सबैभन्दा ठूलो संख्या हो, यस विद्यालयका विद्यार्थीहरूले सतुङ्गलस्थित विष्णुदेवी मावि परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । सामुदायिकतर्फ मंगलोदय मावि थानकोटका ११३ जना परीक्षार्थीले यसवर्ष एसईईमा सहभागी हुनेछन् । सो विद्यालयका परीक्षार्थीहरूले रिब्स मावि परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
यस्तै चन्द्रागिरि वैकल्पिक विद्यालयका १४७ जना परीक्षार्थी पनि यसवर्ष माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनेछन् ।
चन्द्रागिरि नगर क्षेत्रबाट यसवर्ष एसईईमा सहभागी २३६२ जना परीक्षार्थी मध्ये ६८ जना प्राविधिक धारका छन् ।
चन्द्रागिरि नगरका विभिन्न ६ विद्यालयको परीक्षा केन्द्र चन्द्रागिरि नगर क्षेत्र बाहिर परेको छ ।
परीक्षा समन्वय समिति काठमाडाैंको २०८२ माघ ७ गतेको निर्णय अनुसार परीक्षा केन्द्र तथा सो केन्द्रमा सहभागी विद्यालयहरूको विवरण सार्वजनिक भएको इकाइ प्रमुख उपसचिव डा. समन्तिमणि आचार्यले जानकारी दिए ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १९ देखि २९ चैतमा सञ्चालन हुने तालिका छ ।
तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ चैतमा ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २७, २८ र २९ चैतमा भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।
यसपटक २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो ।
गत वर्षको एसईई ७ चैतबाट सञ्चालन भएको थियो ।















