चन्द्रागिरिका विद्यालयमा ‘एडुटेक’ अभियान सञ्चालन
थानकोट ।
विद्यार्थीहरूकै नेतृत्वमा विद्यार्थीहरूका लागि सञ्चालनमा रहेको ‘विद्या’ले जेसीआई थानकोट जुनियरसँग समन्वय गरी चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका विभिन्न विद्यालयहरूमा ‘एडुटेक’ नामक कार्यक्रमको सञ्चालन गरेको छ । यही श्रावण ११ गतेदेखि सुरु भएको कार्यक्रम नगर क्षेत्रका करिब १० वटा विद्यालयमा सञ्चालन हुने बताइएको छ ।
युवाहरूको नेतृत्व विकास, सामुदायिक सेवा र सकारात्मक परिवर्तनका लागि प्रतिबद्ध रहेको विश्वव्यापी संस्था जुनियर चेम्बर इन्टरनेसनलको सिद्धान्त अनुरुप सक्रिय जेसिआई थानकोट जुनियरले स्थानीय स्तरमा युवा तथा बालबालिकाको चौतर्फी विकासका लागि विभिन्न रचनात्मक क्रियाकलापहरू गर्दै आएको छ।
ओलिम्पियाड, कृत्रिम बौद्धिकता (एआई), उदाउँदो प्रविधि र त्यसका प्रचलित अभ्यास लगायत अन्य शैक्षिक अवसरहरूको बारेमा कक्षा ८-१० का विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्य यो कार्यक्रमले लिएको छ। चन्द्रागिरि नगरपालिकाका १० वटा विद्यालयहरूमा रहेका विद्यार्थीहरूलाई विद्यालयको पाठ्यक्रम बाहेकको जानकारी र समसामयिक प्रविधिबारे जानकारी प्रदान गर्नु नै ‘विद्या’द्वारा सञ्चालित यस कार्यक्रमको मूल उद्देश्य रहेको छ।
विद्यार्थीहरूलाई कक्षा कोठाभित्र मात्र नभई बाहिरका पनि अवसरहरूको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको एडुटेकले हालसम्म चन्द्रागिरिका ओरेकल एकेडेमी, ऋचा विद्यालय, बाइट एन्जल्स विद्यालय, एवर भिजन विद्यालय र प्रभात विद्यालयमा यो कार्यक्रम सम्पन्न गरिसकेको छ । अब विभिन्न पाँच विद्यालयमा यो कार्यक्रम सञ्चालनको तयारी रहको जेसीआई थानकोटले जनाएको छ ।
विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित ‘विद्या’ले विभिन्न अन्य संस्थाहरूसँग समन्वय गर्दै नेपालका ५ प्रदेशहरूका विद्यालयहरूमा विद्यार्थीहरूलाई ओलम्पियाड र अन्य शैक्षिक अवसरहरूका बारेमा जानकारी प्रदान गर्दै आएको छ ।
‘विद्या’ले यस कार्यक्रमलाई सफलतापुर्वक सञ्चालन गर्न विद्यालयहरूमा सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको छ। ‘विद्या’ले सम्पूर्ण शैक्षिक समन्वय, विद्यालय व्यवस्थापन तथा सहजीकरणको जिम्मेवारी प्रभावकारी ढङ्गले पूरा गरेको छ।
जेसिआई थानकोटले यो कार्यक्रममार्फत चन्द्रागिरिका विद्यार्थीहरूलाई भविष्यमा काम लाग्ने सीप सिकाउने काम गरेको छ। यो कार्यक्रम मात्र नभई अन्य विभिन्न कार्यक्रमहरू जस्तै: वृक्षरोपण कार्यक्रम, युवा अभिमुखीकरण आदि द्वारा पनि जेसिआई थानकोट जुनियरले युवाहरूको नेतृत्व विकास र सामाजिक जिम्मेवारी बोध गराउने काम र नेपालमा जिम्मेवार नागरिकहरू उत्पादन गर्ने काम निरन्तर रूपमा गर्दै आएको छ। ‘विद्या’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिएर उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पनि स्थानीय तहमा रहेका विद्यार्थीहरूलाई आफूले चाहेको प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सल्लाह र परामर्श दिन मद्दत गर्ने गरेको छ।
‘विद्या’ र जेसिआई थानकोट जुनियरको संयुक्त प्रयासमा सञ्चालित एडुटेक कार्यक्रम चन्द्रागिरि नगरपालिकाको शैक्षिक विकासमा एउटा सकारात्मक कदम रहेको जानकारहरूको भनाइ छ । यस किसिमका गतिविधिहरूले युवा र विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउन र राष्ट्रिय स्तरमा योगदान दिन सक्षम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।














