यस्तो छ रास्वपाको बाचापत्र (पूर्णपाठसहित)

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ।

‘थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिइएको छ।

बाचापत्रमार्फत रास्वपाले सार्वजनिक सेवा लिन जनताले लाइन बस्नुपर्ने बाध्यता हटाई ‘लाइन होइन, अनलाइन’ प्रणाली लागू गर्ने, सरकारी कार्यालयमा बिचौलियाको अन्त्य गर्ने र राष्ट्रिय परिचयपत्रलाई एकीकृत सेवाको आधार बनाउने प्रतिबद्धता जनाएको छ।

भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा वि.सं. २०४६ सालयता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइलहरू खोल्ने कठोर नीति लिइने उल्लेख छ। साथै, पार्टीले कुनै पनि प्रकारका भातृ सङ्गठन नखोल्ने र शिक्षा, स्वास्थ्य तथा सार्वजनिक संस्थानहरूलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेको छ।

अर्थतन्त्रतर्फ डिजिटल अर्थतन्त्र, स्टार्टअप प्रवर्द्धन र ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकता दिँदै उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई मतदानको अधिकार (आई–भोटिङ) सुनिश्चित गर्ने र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ अवधारणा अनुरूप गैर–आवासीय नेपालीलाई अधिकार सम्पन्न गराउने विषयलाई पनि रास्वपाले प्राथमिकताका साथ उठाएको छ। वातावरण संरक्षण, पूर्वाधार विकास र सामाजिक न्यायसहितका विषयलाई समेटेर रास्वपाले समुन्नत नेपालको खाका प्रस्तुत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *