मध्यपूर्वमा तनावः नेपाली नेताहरूले दिए यस्तो सन्देश

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता शाहले मध्यपूर्वमा सिर्जना भएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै यस्तो आग्रह गरेका हुन्।

उनले सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरूको सूचनालाई ध्यान दिन र अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्।

‘त्यहाँस्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु।’

यसका साथै, आधिकारिक सूचना तथा समाचारको मात्र विश्वास गर्न र कुनै पनि आपत्कालीन अवस्थाका लागि नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि उनले सबैमा ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारसँग आग्रह गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले आवश्यक परे तत्काल उद्धार गर्न सकिने गरी पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सभापति लामिछानेले मध्यपूर्वको वर्तमान परिस्थितिलाई अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले अत्यन्तै संवेदनशील भएको बताएका छन्।

उनले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउँदै संवाद र कूटनीतिक माध्यमबाट समस्याको समाधान खोज्न अपिल समेत गरेका छन्।

विशेषगरी यूएई, कतार, बहराइनलगायतका खाडी मुलुकहरूमा लाखौं नेपाली कार्यरत रहेकाले उनीहरूको जीवन, रोजगारी र सुरक्षालाई लिएर गम्भीर चासो उत्पन्न भएको लामिछानेको भनाइ छ।

‘सम्बन्धित देशस्थित नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा राख्दै आवश्यक परे तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गर्न, आपतकालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाउन र नेपालीको अवस्थाबारे नियमित तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दछौं,’ उनले भनेका छन्।

नागरिकको सुरक्षा सरकारको सर्वोपरि दायित्व भएको स्मरण गराउँदै उनले कूटनीतिक पहल, समन्वय र पूर्वतयारीमार्फत कुनै पनि आकस्मिक अवस्थासँग जुध्न सरकार पूर्ण रूपमा तयार रहनुपर्नेमा जोड दिएका छन्।

यसका साथै, मध्यपूर्वको तनावले इन्धनको आपूर्ति प्रणालीमा आउन सक्ने अवरोध र त्यसले नेपालको जनजीवन तथा अर्थतन्त्रमा पार्न सक्ने सम्भावित प्रभावबारे पनि बेलैमा सचेत रहन सभापति लामिछानेले सरकारलाई सुझाव दिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस भन्ने कामना गरेका छन्। मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू निदाउन पनि नसकेको उल्लेख गर्दै उनले यस्तो कामना गरेका हुन्।

मध्यपूर्वमा भएका लाखौं नेपालीहरू आपत र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छट्पटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ। ‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुँवाको दृष्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्,’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।’

अवसर छनौटकाल लागि खुला विश्वमा आज संसारका नागरिक संसारैभरि आउनु जानु स्वाभाविक भएको अध्यक्ष ओलीको भनाइ छ। ‘अस्वाभाविक र खतरनाक त कुरा युद्ध र भूराजनीतिक चपेटा हो,’ अध्यक्ष ओलीले भने, ‘ति देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए। तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने।’

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन्। अध्यक्ष ओलीको प्रार्थना गर्दै भने, ‘कुनै पनि आवरणमा त्यो आउन नसकोस्। आज तपाईंहरूलाई छटपटी भइरहँदा म निदाउन सकिनँ। बेचैन छु।’

ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन्। ‘यस बेला हाम्रो सजगता चाहिन्छ, धैर्य चाहिन्छ। विवेक, धैर्य र साहस–कामना गर्छ,’ अध्यक्ष ओलीले लेखेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्।

इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

‘यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो’, संयोजक दाहालले भेका छन्, ‘विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन आग्रह गर्दछु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *