सभापतिज्यूले प्रधानमन्त्रीको पद त्याग्नुभयो, मैले दोश्रोपटक जिल्ला सभापति किन बन्नु ?- प्रदिप विष्ट
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ ।
रास्वपाले आगामी असारमा महाधिवेशन गर्ने तय गरेको छ । त्यसका लागि आज र भोलि जिल्लाहरूमा महाधिवेशन हुँदै छ ।
रास्वपाले पछिल्लोपटक डोल्पामा तदर्थ समिति गठन गरेसँगै ७७ जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ । रास्वपाले मनाङ र मुस्ताङमा भने अधिवेशन नगर्ने बताएको छ ।
रास्वपाको पहिलो महाधिवेशन आउने ७ देखि ९ असारसम्म हुँदै छ । महाधिवेशन चितवनमा हुने तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडाैं जिल्ला अधिवेशन धुम्बाराहीस्थित स्मार्ट दरबार भेन्यूमा जारी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने रास्वपा काठमाडाैं जिल्ला सभापति प्रदिप विष्टले जानकारी दिए । उनले भने सभापति पदमा दाबी नगर्ने घोषणा गरिसकेका छन् ।
शनिबार दिउँसो अधिवेशनस्थलमा थानकोट टाइम्ससँग बोल्दै प्रतिनिधि सभा सदस्य समेत रहेका विष्टले अब आफ्नो ध्यान पार्टी केन्द्रीय सदस्यतर्फ अघि बढेको बताए । यद्यपी उनले पार्टी निर्देशन अनुसार सबैको सहमतिमा जिम्मेवारी लिने धारणा राखे । विष्ट रास्वपाको स्थापनाकाल देखि नै रास्वपा काठमाडाैं जिल्लाको नेतृत्व गरिरहेका छन् ।












