लेलेस्थित आनन्दवन अस्पताल परिसरमा भीषण आगलागी, दमकल बाटोमै बिग्रियो

Thankot Times

थानकोट ।

दक्षिण ललितपुरको लेले टिकाभैरवमा रहेको आनन्दवन अस्पताल परिसरमा भीषण आगलागी भएको छ ।

भागावन क्षेत्रबाट केही दिनअघि लागेको ढडेलो फैलिएर अस्पताल परिसर पुगेको हो ।

जंगलको बीचमा रहेको अस्पतालसम्मै आगो पुगेर अस्पतालमा क्षति पुग्ने भयले स्थानीय, वनका कर्मचारी, अस्पतालका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी र राजधानीका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

जिल्ला वन कार्यालयका प्रमुख हेमबहादुर थापाका अनुसार बिहानैदेखि आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर नियन्त्रणमा आउन सकेको छैन् । प्रमुख थापाले अस्पतालसम्म आगो पुग्नसक्ने आशंका बढेपछि नियन्त्रणको हरसम्भव प्रयास भइरहेको बताए ।

अस्पतालका निर्देशक महेश शाहले आगोले अस्पताललाई क्षति भने नपुगेको बताए । ‘अस्पताल नजिकै आगो आईपुगेको छ । हामी नियन्त्रणको लागि विभिन्न निकायलाई गुहार मागिरहेका छौं ।’ डा. शाहले ललितखबरलाई बताएका छन् ।

उनका अनुसार तीन वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । एउटा दमकल अस्पताल ननिकै बाटोमा बिग्रेर आगो निभाउन सकेको छैन् ।

अस्पताल परिसरमा असंख्य सल्लोका रुखहरु भएकाले आगो तिव्र गतिमा फैलिएको छ ।

सुख्खा मौसम र सल्लाको पातपतिङ्गर राम्रोसँग बल्ने हुँदा आगो नियन्त्रणमा कठीन बन्दै गएको डाक्टर शाहको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *