आजबाट नागढुङ्गा-पिपलामोड सडक बिहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरिने
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा-पिपलामोड सडक खण्ड आज (जेठ १० गते)बाट दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ ।
यसअघि विस्तार गरिएको ठाउँमा अहिले कालोपत्रेको काम गर्नु पर्ने भएकाले दिउँसो नै सवारी रोकेर काम गर्नुपर्ने अवस्था भएको आयोजना पूर्वी क्षेत्रका प्रमुख केशव ओझाले बताए ।
पिपलामोड क्षेत्रमा सडक निर्माण र सुधार गर्न भन्दै जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।
सूचनामार्फत आयोजनाले सो समयमा काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुङ्गा चेकपोष्ट र काठमाडौं प्रवेश गर्ने सवारी साधनलाई धादिङको खानीखोला बजारमा रोकिने जनाएको छ ।
सो समयमा यात्रा गर्नैपर्ने भए सितापाइला भीमढुङ्गा-रामकोट-धार्के सडक तथा सामाखुसी-टोखा-छहरे-त्रिशुली-गल्छी सडकलाई वैकल्पिक रुपमा प्रयोग गर्न सकिनेसमेत आयोजनाले बताएको छ ।
राजधानी प्रवेशका लागि आउने र बाहिरिने सबै सवारीसाधनले लेन अनुशासनमा रही सवारी चलाउन र ट्राफिक नियमको पालन गर्न समेत सवारीचालकलाई आयोजनाले आग्रह गरेको छ । यसअघि यो खण्डमा राति सवारी आउजाउ रोकेर काम गरिएको थियो ।
बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल लगायतका अत्यावश्यकीय सेवाका सवारी साधन भने आउजाउ गर्न पाउनेछन् ।
वैकल्पिक मार्गको व्यवस्था
अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ ।
वैकल्पिक मार्गहरू यस्ता छन्-
१. सितापाइला-भीमढुंगा-रामकोट-धार्के सडक मार्ग
२.सामाखुसी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिशूली (बेत्रावती)-गल्छी सडक मार्ग
रोकिएका सवारी साधनहरुलाई दिउँसो ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने बताइएको छ ।












