भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

Thankot Times

थानकोट ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंहलगायत नेता तथा कार्यकर्ताहरू पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो ।

पक्राउ परेका थापा, सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ, जारी विज्ञप्तिमा भनिएको छ, यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ । उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु,’सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता, कार्यकर्ता पक्राउ परेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *