चन्द्रागिरिको मेयरमा रास्वपामा ३, काँग्रेस र एमालेमा २-२ जनाको चर्चा, स्वतन्त्र उमेदवारी उत्तिकै

Thankot Times

थानकोट ।

आसन्न स्थानीय तह निर्वाचनको मिति घोषणा हुन बाँकी नै छ ।

निर्वाचन आयोगले फागुन महिनामा चुनाव गर्न सकिने गरि सरकारलाई सुझाएको बताइन्छ । जसअनुसार निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी गरिरहेको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको भएको उल्लेख गर्दै तोकिएको समयमा निष्पक्ष र विवादरहित निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन्। स्थानीय तहलाई लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने आयोगको धारणा रहेको उल्लेख गर्दै उनले त्यसैलाई ध्यानमा राखेर तयारी भइरहेको जानकारी दिए।

आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले संवैधानिक व्यवस्थाअनुसार कार्यकाल समाप्त हुने समय आसपास निर्वाचन हुने उनको भनाइ छ। स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै पटक गर्ने सम्भावनाबारे पनि आयोगले अहिले नै कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

उसो त स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम, अभियानमा राजनीतिक दलहरू होमिइसकेका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ।

संसद्को दोश्रो ठूलो दल नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि कुनै अभियान वा तयारी सुुरु भएको औपचारिक रुपमा सार्वजनिक गरेको छैन् । भर्खरै सो दलको महाधिवेशन सकिएको तथा २ वटा पक्षमा पार्टी विभक्त भइरहेको सन्दर्भमा सो दलको आन्तरिक किचलोका कारण स्थानीय तहको चुनावको तयारी छायाँमा परेको बताइन्छ ।

सरकारले मिति नतोक्दै एमाले पनि चुनाव केन्द्रित अभियान सुरु गर्दैछ।

यसकै लागि तल्लो तहलाई चलायमान बनाउन मंसिर पहिलो साता प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने गरी राष्ट्रिय भेला आयोजना गर्न लागेको प्रवक्ता तथा उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार एमालेले मंसिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्नेछ ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) स्थानीय चुनाव र प्रदेशको केन्द्रित अभियान सुरु गरेको छ । पार्टीले शनिबार (कार्तिक ७ गते)बाट दुई महिने राष्ट्रिय जागरण अभियान सुरू गरेको हो । आगामी मंसिर २५ गतेसम्म यो अभियान सञ्चालन हुने बताइएको छ ।

चन्द्रागिरिमा मेयरको उमेदवार बन्न कसरत 

मेयर घनश्याम गिरीले हाल दोश्रोपटक चन्द्रागिरि नगरको बागडोर सम्हालिरहेका छन् ।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा मेयर जितेका गिरी आसन्न स्थानीय तह निर्वाचनमा चुनिएका नयाँ व्यक्तिलाई नगरको साँचो बुझाएर बाहिरिनेछन् । नेपाली काँग्रेसका तर्फबाट मेयर बनेका गिरीले हालै सम्पन्न महाधिवेशनबाट नगरमा पार्टी नेतृत्वसमेत हस्तान्तरण गरेका छन् ।

सो दलबाट हालसम्म दुई जनाले खुलेरै आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदमा उमेदवारीको आकांक्षा राखेको नेपाली काँग्रेस स्रोतले बतायो ।

पहिलोपटक स्थानीय तह चुनावमा होमिने संघारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेपछि सो दलभित्र पनि मेयर, उपमेयर, वडाध्यक्ष पदमा कसले टिकट पाउला भन्नेमा सबैको चासो रहेको छ ।

अन्य दलमा असन्तुष्ट रहेका, यसअघि अन्य पार्टीमा सक्रिय रहेका व्यक्तिको ठूलो जमात रास्वपाको सदस्य बनेका कारण चन्द्रागिरिमा रास्वपाले के-कसरी उमेदवार चयन गर्ला यो आम चासोको विषय बनेको छ । 

यस दलबाट नगरको नेतृत्व लिन आकांक्षा राख्नेहरूले अघोषित रुपमा सामाजिक सञ्जालहरूमा अभियान सुरु गरिसकेको स्रोतको दाबी छ । रास्वपाको संस्थापन हुँदाका बखत देखिनै सक्रिय रहेका नेताले समेत चन्द्रागिरि नगरको नेतृत्व गर्ने इच्छा देखाएको भनिएको सन्दर्भमा चन्द्रागिरि नगरमा हालसम्म तीन जनाको नाम मेयर पदका लागि चर्चा भइरहेको बताइन्छ ।

नेकपा एमालेमा पनि केही व्यक्तिले मेयर पदमा आकांक्षा देखाएको स्रोतको दाबी छ । लगातार दोश्रो पटक उपमेयरमा चित्त बुझाएको नेकपा एमाले तेस्रो प्रयासमा पहिलोपटक मेयरको कुर्सीमा आफ्ना प्रतिनिधि बसेको हेर्न चाहन्छ ।

यता आसन्न स्थानीय तह निर्वाचनमा उमेदवारी दिने सन्दर्भमा नैकापस्थित कंकाली माविका संस्थापक प्रधानाध्यापक (सेवा निवृत्त) विष्णु पनेरु खुलेरै प्रस्तुत भएका छन् ।

उनले नगरको मेयर बन्न उमेदवारी दिने घोषणा गरिसकेका छन् । यद्यपी उनले राजनीतिक दल वा स्वतन्त्र कुन कित्ताबाट उमेदवारी दिने हुन सो खुलाएका छैनन् । 

चन्द्रागिरि नगरको मेयरमा उमेदवारी दिने पनेरुको घोषणा


Leave a Reply

Your email address will not be published. Required fields are marked *