आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाइँदै, ओली र प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्ने
थानकोट ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागेकाे हाे ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका नेपाहरू आज एउटै मञ्चमा उपस्थित हुने भएका छन् ।
फाउण्डेसनले आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा एमाले अध्यक्ष ओली, नेकपाका संयाेजक ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र जसपाका अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमलाई पछिल्लो राजनीतिक परिस्थितिका कारण अर्थपूर्ण रूपमा हेरिएको छ ।
मदन भण्डारी २०४६ सालमा भएको नेकपा (माले)को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) पनि महासचिव बनेका थिए ।
यस्तै एमालेको २०४९ सालमा भएको पाँचौं महाधिवेशनबाट पनि उनी महासचिव चुनिएका थिए। मदन भण्डारी २०४८ सालका संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
फाइल फोटो










