सप्तकोशीमा जेटबोट दुर्घटना, तीन जनाको मृत्यु

Thankot Times

थानकोट ।

भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ ।

अरुण र दूधकोशीको संगम क्षेत्रनजिकै भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । सशस्त्र प्रहरी बलको बराहक्षेत्र चतरास्थित विपद् व्यवस्थापन बेसका इन्स्पेक्टर मेघराज राउतले तीन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको र प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताएका छन् ।

प्रारम्भिक जानकारीअनुसार जेटबोटमा चालकसहित १४ जना सवार थिए । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको जेटबोटको इन्जिन अचानक बन्द भएपछि नदीको बहावले बोटलाई किनारतर्फ धकेलेको बताइएको छ । त्यसक्रममा जेटबोट पहाडमा ठोक्किएर पल्टिएको प्रारम्भिक जानकारी आएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएको बताइए पनि प्रहरीले घटनास्थल पुगेर यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । मृतक तथा घाइतेको पहिचान पनि खुलिसकेको छैन ।

कोप्चे–बराहक्षेत्र जलयात्रा सेवा दसैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरी केही दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो ।

वर्षायाममा नदीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि बन्द रहेको सेवा आइतबारदेखि पुनः सुरु भएको थियो । कोप्चेदेखि बराहक्षेत्रसम्म करिब १९ किलोमिटरको जलयात्रा सामान्य अवस्थामा २० देखि २५ मिनेटमा पूरा हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *