आगामी अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सबै कानुनहरू पारित गरिने : मन्त्री शर्मा

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित सबै कानुनहरू पारित गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । 

सेन्टर फर इनिसिएटिभ गभर्नेन्स प्राक्टिसेस (सिआइजिपि)ले काठमाडौँमा गरेको स्थानीय सरकारका प्रवक्ताहरूको भूमिका र जिम्मेवारी सम्बन्धी तीन दिने तालिमको आज समापन गर्नुहुँदै मन्त्री शर्माले सङ्घीयता कार्यान्वयन सँग सम्बन्धित कानूनलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाउन लागेको बताउनुभएको हो । 

मन्त्री शर्माले संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन लगायतका कानुनहरू संसदबाट पारित भएपछि प्रदेश र स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका समस्याहरू समाधान हुने धारणा राख्नुभयो ।  

मन्त्री शर्माले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू बन्न ढिला हुँदा तीन तहका सरकार बीच समन्वयको अभाव हुने, काममा दोहोरोपना आउने जस्ता समस्याहरू देखिएको र सङ्घीयता प्रति नै जनतामा नकारात्मक धारणा विकास हुँदै गएकोप्रति सरकार सचेत रहेको र जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारलाई बलियो बनाउनेगरी कानुनहरू निर्माण गर्न लागिरहेको बताउनुभयो । 

तालिम कार्यक्रममा चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीको समेत सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *