कतै यात्रा गर्दै हुनुहुन्छ ? जान्नुहाेस आजको माैसम पूर्वानुमान
थानकोट ।
आज देशका कोशी, बागमती र गण्डकी प्रदेशका जिल्लाहरूमा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले अघि बिहान ६ बजे सार्वजनिक गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको तथा तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।
यस्तै आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।













