काभ्रेमा माइक्रोबस सडकबाट २०० मिटर तल खस्यो, तीन जनाको उद्धार

Thankot Times

थानकोट ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– २, दुबैगैंडामा माइक्रोबस गाडी दुर्घटना हुँदा तीन जनाको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गएराति करिब २:२५ बजे झापाबाट काठमाडौं आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको माइक्रोबस गाडी आफैँ अनियन्त्रित भई बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसीबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डेको कमान्डमा तथा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

प्रहरी टोलीले दुर्घटनामा परेको माइक्रोबसमा सवार तीन जनालाई सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उद्धार गरिएकामा माइक्रोबस चालक इलाम नगरपालिका– ६, इलामका ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका– ७ की २६ वर्षीया रीता आपागाईं र उनका नौ वर्षीय छोरा रितिक आपागाईं रहेका छन् ।

दुर्घटनाबारे थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *