चन्द्रागिरि डाँडामा ताल्चा झुण्ड्याउनेको लर्को (भिडियो)
थानकोट ।

विशेष गरी युरोपमा मायाको प्रतीकका रूपमा यसरी ताल्चा मार्ने चलन छ।
अचेल यो चलन संसारका विभिन्न कुनामा फैलिसक्यो।
प्रेमको चिह्न भएकाले यस्तो तालालाई अंग्रेजीमा ‘लभ प्याडलक’ भनिन्छ।
जोडी वा एक्लै पनि कसैको सम्झनामा ताल्चा झुन्ड्याउने अनि साँचो कतै फालिदिने, मिलेसम्म नजिकको नदीमा !
यस्तै चलन अहिले चन्द्रागिरि नगरपालिका-४ स्थित भालेश्वर डाँडा (चन्द्रागिरि हिल्स) मा पनि सुरू भएको छ।
अहिले भालेश्वर मन्दिरमा दर्शन गर्न आउने कतिपयले त्यो ठाउँलाई नियाल्ने गर्छन् र कुनैकुनै जोडीले त्यस तारजालीमा नामसहितको ताल्चाहरु झुन्डियाउने अर्थात लक गरिदिने गर्छन्। त्यसरी जोडीको नाम लेखी लक गरिएका तालाहरु अहिले त्यहाँ सयौंको संख्यामा देख्न सकिन्छ।
‘लभ लक’ अर्थात् तारजालीमा साँचोलाई झुण्ड्याउने र लक गरिदिने। यसको अर्थ हो, माया सधैंभरि लक होस्। प्रेमी प्रेमिकाको मायामा कुनै दरार नआई सधैंभरि ढोकामा ताल्चा मारेझै माया बलियो भइ राखोस भनेर ताला लगेर लक गरिएको बताउँछन्, त्यहाँ भेटिएका एक जोडी।
नयाँ भएकाले यतिबेला त्यहाँ पुग्ने जो कसैलाई पनि सुरुमा किन यति धेरै ताल्चा झुन्डिएका होलान भनेर अनौठो लाग्न सक्छ। मन्दिर दर्शनसँगै रहेको लभ लकमा केटा र केटीको नाम लेखिएको सयौं ताल्चाहरु लस्करै झुन्डिएका दृश्यले भने अनुमान गर्न सकिन्छ कि यो प्रेमी प्रेमिकाले झुण्डियाएका ताला हो भनेर।
हुनत त्यो ठाउँमा यसरी ताल्चा झुन्डियाउन थालेको भर्खरै हो । कसम खाएर मायाको गाँठो कसिलो बनाउन अचेल प्रेम जोडीहरु एउटा ताल्चा बोकेर त्यहाँ पुग्ने गर्छन्। र, प्रेम प्रेमीको नाम लेखेर ताल्चा झुन्डाएर हिँड्छन्। ताल्चा लक गरेपछि ताल्चाको साँचो भने कतै नदिमा वा नभेटिने ठाउँमा फाल्नुपर्ने हुन्छ।
अनि विश्वास गरिन्छ, हाम्रो माया यही ताल्चा लागेसरी प्रिय भयो, अब कहिले छुट्ने छैन भनेर।














