ताइवान बुधबार गएको भूकम्पमा परी ९ जनाको मृत्यु, ५० जना बेपत्ता, ९ सय जना घाइते
थानकोट ।
एशियाली मुलुक ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् ।
भूकम्पमा परी करिब ९०० जना घाइते छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका कर्मचारीहरु नेशनल पार्क क्षेत्रमा बेपत्ता भएका छन्।
आपतकालीन सेवाको टोली बुधबारदेखि नै खोज तथा उद्धार कार्यमा सक्रिय छ । उनीहरु भग्नावशेषहरु हटाउने र प्रभावितहरुलाई आश्रयस्थलको व्यवस्था गर्ने काममा व्यस्त छन् । भूकम्प प्रभावित व्यक्तिहरुले गएको राति त्रिपाल र टेन्ट मुनि बिताएका छन् ।
बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला भवनहरु भत्किएका थिए भने पहाडी क्षेत्रमा पहिरो गएको थियो ।










