दसैँको मौका छोपी काठमाडौँका घरहरूमा चोरी गर्ने गुर्जुधारा बस्ने एक जनासहित चार जना पक्राउ

Thankot Times

थानकोट ।

दसैँको समयमा घरमा कोही नभएको मौका पारेर चोरी गर्ने चार जनालाई प्रहरीले चोरीका सुन तथा चाँदीका गरगहना र नगदसहित पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ८ गते काठमाडौँका विभिन्न स्थानहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौँ महानगरपालिका-१४ कलङ्की तासिन्डोल मार्गस्थित किसन सिंह बस्नेतको घरमा भाडामा बस्ने उर्मिला भन्ने सीता थपलियाको फ्ल्याटमा कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर चोरी भएको थियो। असोज ५ गते राति ११:३० बजेदेखि असोज ६ गते बिहान ३:०० बजेको समयमा उक्त फ्ल्याटबाट नगद तथा सुनचाँदीका गरगहना चोरी भएको थियो।

त्यसैगरी असोज ६ गते कलङ्की रञ्जित कोलोनिस्थित निरञ्जन नेपालको घरमा पनि कोही नभएको मौका पारी ढोकाको ताला फोडेर धनमाल चोरी भएको थियो।

घटनाको अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले असोज ८ गते बेलुका ७:३० बजे चोरीका सामान र नगदसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, चन्द्रागिरि सानो मन्दिर टोल बस्ने १९ वर्षीय राजु कुमार भन्ने राजु पोदार, सोही ठाउँ बस्ने २३ वर्षीय लल्लु पोदार भन्ने राजेन्द्र कुमार र कालिमाटी बस्ने ४६ वर्षीया बिणा देवी रहेका छन्। उनीहरू सबै भारतको बिहार राज्यका बासिन्दा हुन्।

प्रहरीले उनीहरूको साथबाट विभिन्न किसिमका सुन तथा चाँदीका गहना, मूर्ति, सिक्का, १६ थान मोबाइल, १० थान घडी, विभिन्न दरका भारु १२,३१० रुपैयाँ तथा नेपाल र भारतका सिक्काहरू बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी काठमाडौँ पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *