प्रेस काउन्सिल नेपालद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
थानकोट ।
प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ । योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा आएका छन् ।
शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई बान्तवा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेका छन् । यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा नरहने बताएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको विभिन्न ५ भाषामा अनुवादित पत्रकार आचारसंहिता र संहिता भाषागत पत्रकारिता विशेषाङ्क सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गरे ।
डा.ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए । काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य साहसिक कार्य भएको बताए । ‘भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो यो एक एड्भेन्चर हो’ उनले भने ।
काउन्सिलले नेपाली भाषामा रहेको पत्रकार आचारसंहितालाई नेपाल भाषा, थारु, मैथिली, राई बान्तवा, वाम्बुले राई, भोजपुरी, तामाङ र डोट्याली भाषामा समेत अनुवाद गरेको छ । तीमध्ये ५ भाषामा अनुवादित आचारसंहिता शुक्रबार सार्वजनिक गरिएको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भू–भागमा बोलिने मातृभाषाको प्रवर्द्धनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहने बताए । उनले सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको उल्लेख गरे । ‘मातृभाषाका सञ्चार माध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन् । त्यसैले यसलाई प्रवर्द्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ,’ अध्यक्ष बस्नेतले भने ।
कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भू–भागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गरे । आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उनले मातृभाषा र स्थानीयपनलाई बेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताए ।
यस्तै सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फुलमान बलले मातृभाषा सबल बनाउन तत् भाषामा पत्रकारिता गर्नु जरुरी रहेको बताए । पत्रकारिताको माध्यमबाट मातृभाषाको विस्तारका लागि अहिले सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गरे ।
पत्रपत्रिका रेडियो र टेलिभिजन मात्र नभई न्यु मिडियाको माध्यमबाट मातृभाषामा पत्रकार आचारसंहिताको प्रचार प्रसार गरिनुपर्ने उनको भनाई थियो । ‘मातृभाषामा भइरहेको पत्रकारिता न्यु मिडियामा रूपान्तरण हुनैपर्छ यसले मातृभाषा बचाउँछ’ उनले भने ।
गोरखापत्रका महाप्रबन्धक लाल ऐरीले गोरखापत्रले लामो समयदेखि मातृभाषाको प्रवर्द्धन हुनेगरी प्रकाशन गरिरहेको उल्लेख गर्दै काउन्सिलले मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि गरेको प्रयास सह्रानीय रहेको बताए ।
कार्यक्रममा लेखक एवं पत्रकार डा. कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारु, मनोज वर्मा, वीणा सिन्हा, धनबहादुर मगर लगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाएका थिए ।
तस्वीरः प्रेस काउन्सील नेपाल


















