झापामा केपी ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्न प्रचण्डले रञ्जित तामाङलाई दिए टिकट
थानकोट ।
झापा– ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट रञ्जित तामाङले चुनाव लड्ने भएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तामाङलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुमति दिएका छन् ।
‘आगामी फागुन २१ गतेका लागि शुभकामनासहित चुनावी अनुमति प्रदान गर्नुएको छ । नेतृत्वगणलाई आभारसहित झापा क्षेत्र नं. ५ वासी आमतदातामा चुनाव चिह्न तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्छ’, प्रचण्डसँगको भिडियो पोस्ट गर्दै तामाङले सामाजिक सञ्जालमा भनेका छन् ।
सो निर्वाचन क्षेत्र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो । ओली यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने निश्चित छ भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पनि त्यहीँबाट चुनाव लड्ने योजनामा छन् ।
तामाङले यसअघि नै सो निर्वाचन क्षेत्रमा अध्यक्ष ओलीसँग चुनाव लड्ने घोषणा गरेका थिए ।














