निर्वाचनका निम्ति जनशक्ति परिचालन र सुरक्षा व्यवस्थाका सम्पूर्ण तयारी पूरा: आयोग

Thankot Times

थानकोट ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताएका छन् । उनले मतदान प्रक्रिया सम्पन्न गर्न जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र अन्तरनिकाय समन्वय लगायतका सबै तयारी पूरा भएको समेत बताए । 

सचिव राउतका अनुसार, निर्वाचन सम्पन्न गर्न करिब दुई लाख १५ हजार कर्मचारी तथा झन्डै साढे तीन लाख सुरक्षाकर्मी देशभर परिचालित छन् । उनले हालसम्मको सुरक्षा विश्लेषणअनुसार कुनै पनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना हुने संकेत नदेखिएको उल्लेख गरे ।

आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले केन्द्रले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै आवश्यक निर्देशन तथा सहकार्य गर्ने बताए ।

“शान्तिपूर्ण रूपमा देशभर नै निर्वाचन सम्पन्न हुनेमा निर्वाचन आयोग विश्वस्त रहेको छ । दुई लाख १५ हजार निर्वाचनसँग सम्बन्धित कर्मचारीहरू र करिब साढे तीन लाख सुरक्षाकर्मीहरू देशभर परिचालित हुनुहुन्छ । र अहिलेसम्मको सुरक्षा विश्लेषण हेर्दाखेरी कुनै पनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना नहुने भएको छ,” उनले भने ।

नेपाल सरकार, सुरक्षा निकाय, प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आयोग दृढ रहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *