प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग ग्लोबल गेटको सहयोग
थानकोट ।
रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।
प्राप्त सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाताबाट प्राप्त रकम कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाएका छन्।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा विभिन्न कम्पनी तथा संस्थाबाट प्राप्त सहयोगमार्फत २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। सम्बन्धित दाताहरूले मन्त्रालयमा रकम हस्तान्तरण गरेपछि उक्त रकम विपद् उद्धार कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको हो।
संकलित रकम रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारसँगै खोजी कार्य र आगामी पुनर्स्थापनाका लागि परिचालन गरिने जनाइएको छ। कोषमा योगदान गर्ने कम्पनी तथा अन्य सहयोगदाताको विवरणसमेत सार्वजनिक गर्ने तयारी गरिएको छ।
यता, कलंकीस्थित ग्लोबल गेट एडुकेशनल कन्सलटेन्सीले पनि रसुवा विपद् व्यवस्थापनका लागि उद्धार कोषमा ५१ हजार १ सय ११ रुपैयाँ सहयोग् गरेको छ ।
संस्थाका तर्फबाट गणेश थापाले सो रकम बिहीबार साँझ योगदान गरेका हुन् ।
प्राकृतिक विपद् बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सार्वजनिक राहत तथा सहयोग कोषमार्फत प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।











